Wednesday, April 14

जमिन चिरा परेपछि गाउँमा त्रास

March 3, 2021 121

धनकुटा — एक्कासि जमिन भासिने र चिरा पर्ने क्रम सुरु भएपछि महालक्ष्मी नगरपालिका–४ डाँडाखर्कस्थित खारटोलमा गाउँका बासिन्दा त्रासमा छन् । जमिन भासिने र चर्किंदा यहाँका सात घर जोखिममा परेका छन् । अन्य १३ परिवार पनि त्रसित छन् ।

करिब दुई हजार रोपनी क्षेत्रफलमा रहेको उक्त क्षेत्रमा गत कात्तिकयता जमिन सामान्य चर्किने क्रम सुरु भएको थियो । त्यसयता बिस्तारै बढेको थर्कबहादुर थापाले बताए । भासिएर एक घरमा क्षति पुगेको छ भने ६ घर चर्किएका छन् । घरआँगनमा तीन फिट चौडा भ्वाङ परेको छ । दुग्धेश्वरी टोल सुधार समितिका संयोजकसमेत रहेका थापाका अनुसार घर, गोठ चर्किएर बस्न नहुने अवस्थामा पुगेपछि पुस्तौं बिताएको थातथलोबाट विस्थापित हुनुपर्ने चिन्ता बढेको छ । बस्नै डर भएपछि बृखबहादुर भुजेलको परिवार विस्थापित भएको छ ।
गर्जमान भुजेल, छविलाल विश्वकर्मा, मैनाकुमारी विश्वकर्मा, पञ्चबहादुर विश्वकर्मा, हिमबहादुर भुजेल र टेकबहादुर थापाको परिवार उक्त संकटबाट प्रत्यक्ष प्रभावित बनेको वडाध्यक्ष यज्ञबहादुर चापागाईंले बताए । ‘जुनसुकै बेला मानवीय क्षति हुन सक्ने भएकाले स्थानान्तरण गरिनुको विकल्प नै छैन,’ उनले भने, ‘जतिसक्दो चाँडो अन्यत्र बासस्थानका लागि जग्गा पहिचान गरेर बस्ती व्यवस्थापन गराउने प्रयास भइरहेको छ ।’ गर्जमान, छविलाल, मैनाकुमारी र पञ्चलालको घर चर्किएको छ । घरछेउ र बारीका सयौं ठाउँमा आधा फिट चौडाइका चिरा परेका छन् ।

सात परिवारको चानुवास्थित प्रहरी चौकीले सरजमिन मुचुल्का गरेबाहेक अन्य वैकल्पिक व्यवस्थापनबारे अन्य प्रयास नगरिएको स्थानीयको गुनासो छ । महालक्ष्मी नगरपालिकाका प्रमुख परशुराम नेपालले तत्काल स्थानान्तरण गर्न जरुरी रहेको बताए । ‘यसबारे जिल्ला विपद् व्यवस्थापन समितिमा जानकारी गराएका छौं,’ उनले भने ।

दुग्धेश्वरी र डाँडाखर्कका अन्य १३ घर पनि उक्त समस्याबाट प्रभावित रहेको स्थानीय प्रहरी चौकीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले आफूकहाँ यसबारे अध्ययन गर्ने जनशक्ति नभएकाले केही गर्न नसकिएको बताए ।

प्रतिकृया दिनुहोस्