Wednesday, September 22

उपमेयरमा ९९ भोट ल्याएकी रेणुका गुरूङ लाइ ओलीले बनाइदिए राज्यमन्त्री

June 5, 2021 281

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त उपपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गत वैशाख ३१ मा गठित वर्तमान सरकारमा आज जनता समाजवादी पार्टी नेपालका तर्फबाट समेत गरी उपप्रधानमन्त्री र अधिकांश नयाँलाई समावेश गरेर मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधिानबमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन भएको थियो ।

नवनियुक्त उपप्रधानमन्त्रीत्रयमा अर्थ मन्त्रालयसहित विष्णुप्रसाद पौडेल, परराष्ट्रसहित रघुवीर महासेठ र शहरी विकाससहित राजेन्द्र महतो छन् । जसपाबाट आठ र एमालेबाट चार मन्त्री कायम रहनुभएको छ भने जसपाबाट दुई राज्यमन्त्री नियुक्त भएका छन् ।नवनियुक्त राज्यमन्त्रीले राष्ट्रपति भण्डारीका उपस्थितिमा प्रधानमन्त्री ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिए । नवनियुक्त मन्त्रीमा शरत्सिंह भण्डारी–ऊर्जा, जलस्रोत तथा सिँचाइ, शेरबहादुर तामाङ– स्वास्थ्य तथा जनसङ्ख्या, अनिलकुमार झा –खानेपानी, लक्ष्मणलाल कर्ण– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, विमल श्रीवास्तव–श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया–संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, चन्दा चौधरी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँ– युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारीमा आएका छन् ।

राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला मन्त्रालयमा नियुक्त भएका छन् । हाल गृह, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले नै लिएका छन् । एमालेबाट यसअघि मन्त्री भएकामध्ये अर्थमन्त्री पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ कायम रहेका छन् ।

यसैबीच नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आज पदबहाली गरे । त्यस्तै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महासेठले पनि आजै परराष्ट्र मन्त्रालयमा पदबहाली गरेका छन् । उनलाई परराष्ट्र सचिव भरतराज पौड्याल र अन्य कर्मचारीले मन्त्रालयमा स्वागत गरेका थिए ।

यसै क्रममा चार वर्ष अघि उपमेयरमा पराजित भएकी रेणुका गुरूङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री भएकी छिन्। प्रधानमन्त्री ओलीले शुक्रबार गुरूङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त गरेका हुन्। उनले शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्। २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उनी काठमाडौंको टोखा नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी थिइन्। तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट उम्मेदवार बनेकी गुरूङले उपप्रमुखमा ९९ मत पाएको निर्वाचन आयोगको तथ्यांक छ।

हिमाल खबरमा छापिएको समाचार अनुसार टोखा नगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)की ज्ञानमाया डंगोल निर्वाचित भएकी थिइन्। उनले आठ हजार ९८ मत पाएकी थिइन्। नवनियुक्त राज्यमन्त्री गुरूङ राजनीतिमा लागेको पनि चार वर्षमात्रै भएको छ। उनी स्थानीय तहको निर्वाचन अघि फोरमको टोखा नगर कमिटी अध्यक्ष बनेकी थिइन्। उपप्रमुखमा पराजित गुरूङलाई फोरमले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार बनाएको थियो। उनी समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनेकी थिइन्।

प्रतिकृया दिनुहोस्