Friday, June 18

कोरोनाको सम्भावित तेस्रो लहरबाट बच्ने तयारी

June 5, 2021 75

महामारीको तेस्रो र चौथो लहरले बालबालिका धेरै प्रभावित हुने आँकलन सरकारले गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई परिपत्र गर्दै तेस्रो र चौथो लहरबाट बालबालिका प्रभावित हुने भन्दै स्वास्थ्य संस्थामा तयार रहेका आइसोलेसनमा रहेका शय्याको २० प्रतिशत शैय्या बालबालिकाका लागि छुट्टाउन र अन्य तयारी गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

जिल्लामा रहेको एक मात्र अस्पताल धौलागिरि अस्पतालमा तेस्रो लहरसँग जुध्न पूर्वाधारको अभाव छ । अस्पतालमा बालबालिकाका लागि आवश्यक सघन उपचार कक्ष ९एनआइसियु र पिआइसियु० छैन् । ‘‘बालबालिकाका लागि भनेर छुट्टै व्यवस्था केही पनि छैन्’’ अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बिक पोखरेलले भन्नुभयो, ‘‘अहिले पनि शङ्कास्पद बिरामीको जाँच र उपचार वयस्कहरुको जस्तै गरेर गरिरहेका छौँ, फर्काएका छैनौँ ।’ बच्चाको लागि आवश्यक पूर्वाधारको तयारीमा लागेको उहाँले बताउनुभयो ।

एक महिनाभन्दा कम उमेरका बालबालिकाका लागि अन्य समयमा समेत आवश्यक पर्ने एनआइसियु स्थापनाका लागि पटक–पटक आग्रह गरिएको भएपनि अहिलेसम्म सङ्घीय र प्रदेश सरकारबाट सम्बोधन हुन नसकेको गुनासो उहाँले गर्नुभयोे । ‘‘२० प्रतिशत शैय्याको विषयमा हामी छलफलमै छौँ, तयारी केही भैसकेको छैन्’’, उहाँले भन्नुभयो ‘‘पूर्वतयारीमा लाग्ने निर्देशन छ सोही अनुसार काम हुन्छन् ।’’

अस्पतालमा दाताहरुले बालबालिका लागि आवश्यक सघन उपचार कक्षको स्थापनामा चासो देखाएको उहाँले बताउनुभयो । दाताको सहयोग लिएर व्यवस्थापनमा लाग्ने अस्पतालको तयारी छ । स्वास्थ्य कार्यालय बागलुङले भने सबै बर्थिङ सेन्टर, स्वास्थ्य संस्था र अस्थायी कोभिड अस्पताललाई दोस्रो र तेस्रो लहरका लागि तयार राख्ने प्रयास थालेको छ ।

‘‘बच्चा प्रभावित हुने भाइरसले बर्थिङ सेन्टरमा सबैभन्दा ठूलो प्रभाव राख्छ’’, कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले भन्नुभयो, ‘‘हामीले छलफल चलाउँछौँ र निर्देशनअनुसार तयारी हुन्छ ।’’ घिमिरेका अनुसार बालबालिकाको अक्सिजनको मात्र नाप्ने यन्त्र, मास्क, र अस्पतालहरुमा अनुगमन गर्ने विधिको अभाव छ । वयस्कहरुका लागि प्रयोग हुने स्रोत साधनले बालबालिकाका लागि नहुने कार्यालयको आँकलन छ । बागलुङमा निसीखोला, बरेङ, ताराखोला र काठेखोला गाउँपालिकामा अस्थायी कोभिड अस्पताल बनाइएको छ । ती अस्पतालहरुमा पनि बालबालिकाका लागि शैय्या भने छुट्टाएका छैनन् ।

निशेधाज्ञाले आश्रममा अभाव

सडक मानवहरुको उद्धार र स्याहार गर्दै आएको मानव सेवा आश्रम बागलुङ निशेधाज्ञाका कारण समस्यामा परेको छ । दाताहरुको सहयोगका आधारमा सञ्चालित आश्रममा निशेधाज्ञामा सहयोग आउन छोडेको हो । सहयोग गर्ने दाताहरु कोरोना सङ्क्रमणको त्रासका कारण आश्रमको सम्पर्कमा आउन छोडेपछि सहयोग घटेको हो ।

दाताहरु आउन छोडेपछि आश्रम सञ्चालनमा हम्मेहम्मे परेको छ । पचपन्न महिला, बालबालिका तथा वयोवृद्धाहरुलाई आश्रय दिइरहेको आश्रमले दैनिक खर्च चलाउन समेत कठिन भएको आश्रमकी सञ्चालिका सुमिरा लामाले बताउनुभयो । आश्रममा दाल, चामल, नुन, तेललगायतका दैनिक उपभोग्य वस्तु सकिएका छन् ।

आश्रमको दैनिक सञ्चालन खर्च गर्न नगदसमेत छैन । सञ्चित पुँजी नरहेको र सहयोग रोकिँदा आश्रम सञ्चालनमा समस्या भएको लामाले बताउनुभयो । जन्मदिन, स्मृति दिवस र अन्य सामाजिक सङ्घसंस्थाहरुको स्थापना दिवसका कार्यक्रम हुँदा आश्रमलाई सहयोग आउने गरेको थियो ।

निशेधाज्ञाका कारण कुनै पनि कार्यक्रमहरु सञ्चालन भएका छैनन् । वैदेशिक रोजगारमा रहेकाहरुले गर्ने सहयोग समेत रोकिएको छ । लामो समय सहयोग रोकिँदा भएको सञ्चित रकम समेत सकिएको आश्रमले जनाएको छ । ‘‘सहयोगी मनका धनी व्यक्तिहरूको कारण मानव सेवा आश्रम सञ्चालन भइरहेको थियो’’ लामा भन्नुहुन्छ, ‘‘अहिले कोही आउनु भएको छैन्, यहाँका लक्ष्मीनारायणहरुलाई खाना खाजा खुवाउन समेत समस्या भैरहेको छ ।’’ स्थानीय व्यापारीबाट खाद्यान्न उधारो लिएर काम चलाएको लामाले बताउनुभयो । आश्रममा रहेका ५३ जनालाई कोरोनाविरुद्धको खोप लगाइएकाले सङ्क्रमणबाट हुने क्षतिको त्रास भने कम छ ।

किसानले दूधको भुक्तानी पाएनन्

दूधको भुक्तानी रोकिएपछि बागलुङको बलेवा र कुश्मीशेरा क्षेत्रका किसान मर्कामा परेका छन् । बागलुङ नगरपालिकाको अमलाचौर, नारायणस्थान र जैमिनी नगरपालिकाको कुश्मीशेराका किसानले उत्पादन गर्ने दूधको भुक्तानी रोकिएको हो । कुश्मीशेराको टुनीबोट, खौर, किसेक, बागलुङ नगरपालिका–१२ अमलाचौरको टाकुरी, सरङ्गी गाउँका किसानले लामो समयदेखि दूध विक्रीबापतको भुक्तानी नपाएका हुन् ।

कुश्मीशेराको टार र बागलुङ नगरपालिका—१४ को नारायणस्थानका किसानको पनि समस्या उस्तै छ । मुख्य आयस्रोत दूधको भुक्तानी नै रोकिएपछि किसानहरु मर्कामा छन् । दूध उतपादनकै लागि पालिएका गाई भैंसीलाई खुवाउने दाना चापट र घर खर्च चलाउन समेत कठिन भएको किसान प्रेम पौडेल बताउनुहुन्छ । यहाँ उत्पादन भएको दूध बागलुङ र पर्वतका विभिन्न दूध डेरीहरुले खरीद गर्छन् । बागलुङको दक्षिणमा रहेका चार वटा दुग्ध उत्पादक सहकारीको साझा बिक्री केन्द्र गठन गरेर सहकारीहरुले दूध बिक्री गर्छन् ।

कालीगण्डकी, पल्लोपाखा, नवनमूना र बलेवा नारायणस्थान दुग्ध उत्पादक सहकारी संस्थाको सहभागिता रहेको संयुक्त बिक्री केन्द्र छ । बिक्री केन्द्रमार्फत दूध खरीद गरेका कतिपय डेरी पसलहरुले अघिल्लो वर्षको असारदेखिको पैसा भुक्तान गरेका छैनन् । ‘‘हाम्रो दूध लिने बागलुङको न्यू लक्ष्मी डेरीले अघिल्लो असारपछिको पैसा दिएकै छैन, पटकपटक ताकेता गर्दा समेत पैसा नआएपछि हामी प्रक्रियामा जाँदैछाँैं,’ संयुक्त विक्री केन्द्रका अध्यक्ष लीलाधर पौडेलले भन्नुभयोे, ‘‘डेरीहरुले रकम रोकिदिँदा सहकारीले किसानलाई उपलब्ध गराउन सकेनन् ।’’

पौडेलका अनुसार कुश्माको शीतल डेरी, मोदीकाली डेरी, न्यू कालिगण्डकी डेरी र बागलुङको अभिशेक डेरीलगायतका संस्थाले किसानको रकम भुक्तानी नदिएका हुन् । ‘झण्डै रु २५ लाख उठ्न बाँकी छ, केहीको एक वर्ष पुग्यो, केहीले चार÷पाँच महिनादेखि रोकेका छन्,’ पौडेल भन्नुहुन्छ, ‘‘यता सहकारीहरुले आफ्नै स्रोतबाट पनि किसानको रकम भुक्तानी गर्न सक्ने अवस्था छैन ।’’ बिक्री भएको दूधकै पैसा नआएका कारण किसानलाई समयमा भुक्तानी दिन कठिन भएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले बताउनुभयो ।

यहाँका डेरी पसलहरुले भुक्तानी समयमा नदिएपछि अहिले चार वटै सहकारीबाट उत्पादित दूध पोखराको लभकुश डेरीमा पठाउन थालिएको छ । चार वटा सहकारीले दैनिक एक हजार लिटर दूध उत्पादन गर्छन् । ‘‘पोखराको डेरीबाट हाम्रै दूध ल्याएर बेचेका छन् तर हाम्रो पुरानो पैसा दिँदैनन्’’, पौडेल भन्नुहुन्छ, ‘‘वैशाख यता पोखरा गएको दूधको भुक्तानी भने रोकिएको छैन ।’’

सहकारीहरुको संयुक्त बैठकले एकपटक आग्रह गर्ने र भुक्तानी नपाए कानुनी प्रक्रियामा जाने निर्णय गरेको अध्यक्ष पौडेलले सुनाउनुभयो । मुख्य याममा दूध ‘होलिडे’ गर्न लगाउने र बेमौसममा खरीद गर्ने गरेका डेरी पसलहरुले किसानको दूधको भुक्तानीमा भने आलटाल गर्दै आएका छन् । समयमा भुक्तानी नपाउँदा किसान भने पेशाप्रति नै निराश हुने गरेका छन् ।

प्रतिकृया दिनुहोस्