Saturday, October 16

सरकारको जनप्रिय निर्णय : २० युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा

August 11, 2021 277

काठमाडौं –नेपाल सरकारले एकपछि अर्को जनप्रिय निर्णय गरेको छ। बुधबार कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा नियुक्त गरेको प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले २० युनिटसम्म बिजुली निःशुल्क दिने निर्णय गरेको छ।

२० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले यो निर्णय गरिसकेको जानकारी दिइन्।

‘महसुलबारेको निर्णय विद्युत नियमन आयोगले गर्ने भएकाले त्यहाँ प्रस्ताव पठाइएको छ, आयोगले निर्णय गरेको दिनबाट यो महसुलदर लागू हुन्छ,’ उनले भनिन्।यसअनुसार महिनामा २० युनिट मात्रै खपत गर्ने ग्राहकले ३० रुपैयाँको डिमान्ड शुल्क मात्रै तिर्दा हुनेछ। मन्त्री भुसालले विपन्न स्तरका जनतालाई राहत दिने गरी यस्तो निर्णय भएको बताइन्।

मन्त्री भुसालले स्यालो ट्यूवेल सिमान्तकृत र साना कृषकहरूको जीवनस्तर उठाउने माध्यम भएकोले विद्युत बढी माग हुने समयमा महसुलमा ८० र अन्य समयमा पुर्ण रूपमा छुट दिने घोषणा पनि गरिन्।

अब डिप ट्युवेलमा विद्युत बढी माग हुने समयमा महसुलको ५० प्रतिशत र अन्य समयमा ८० प्रतिशत छुट दिइनेछ। यसबाट ट्यूवेलहरु पूर्ण क्षमतामा सञ्चालन भइ ७५ हजार घर धुरी कृषकहरू लाभान्वित हुने, बाली सघनता र कृषि वालि उत्पादन वृद्धि भई खाद्य सुरक्षा र व्यापार घाटा न्यूनीकरणमा योगदान दिने मन्त्रालयको दावी छ।

प्रतिकृया दिनुहोस्