Wednesday, September 22

खुसीको खबर: बढ्यो सबै कामदारको तलब-नयाँ दर यस्तो हुने छ

August 13, 2021 333

काठमाडौँ, २९ साउन ।यहाँका श्रमिकको ज्यालादरमा पाँच प्रतिशतले वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरोकार निकायको समन्वयमा आव २०७८-७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर मजदूरको ज्याला निर्धारण गरेको हो । आव २०७७-७८ मा श्रमिकले प्रतिदिन रु ७५० ज्याला पाउँदै आएकामा अब भने रु ७९० प्राप्त गर्नेछन् । यस्तै फोहर-ढल सफा गर्ने कामदारको हकमा रु एक हजार ७० बाट रु एक हजार १२५ ज्याला कायम गरिएको छ ।

श्रमिकको न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने समय आठ घण्टालाई आधार मानेर आव २०७७-७८ मा कायम गरिएको ज्याला दरमा नेपाल राष्ट्र बैंकको ज्यालादर सूचकाङ्कको मान तथा प्रचलित बजार दरलाई आधार मानेर पाँच प्रतिशत वृद्धि गरी आगामी आर्थिक वर्षका लागि श्रमिकको ज्याला दर निधारण गरिएको जनाइएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक खरीद नियमावली २०६४ को नियम १४८ अनुसार निर्माण सामग्री ढुवानी तथा उपकरणको भाडा र श्रमिकको ज्याला निर्धारण गरिएको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न ५४ वटा क्षेत्र तोकेर भाडा तथा ज्याला एवं निर्माण सामग्रीको दर निर्धारण गरिएको हो । नतोकिएको क्षेत्रको दर भने सम्बन्धित विभागको न्यूनतम आधारअनुसार र उक्त आधार नभएको अवस्थामा उत्पादक र आधिकारिक विक्रेताबाट दरभाउ प्राप्त गरी कार्यान्वयन गराइने उल्लेख छ ।

प्रजिअ पराजुलीसहित जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रक समन्वय कार्यालय, नेपाल निर्माण व्यवसायी महासङ्घ, उद्योग वाणिज्य महासङ्घ र पूर्वाधार विकास कार्यालयका प्रतिनिधि सहभागी बैठकले सो ज्यालादर निर्धारण गरेको हो । यही साउन १ गतेदेखि नै उक्त दर लागू गरिएको छ । हालको गाउँपालिका र नगरपालिकाको केन्द्र तथा बजारबाट स्थलगत दूरीको आधारमा हुन आउने ढुवानी खर्च भने सम्बन्धित निकायले ढुवानी भाडा थप गर्नसक्ने छ ।

पुरातात्विक महत्वका निर्माण कार्यमा विशेष प्रकारको दक्षता र सीप भएका श्रमिकको प्रयोग हुने भएकाले उनीहरुको दैनिक ज्याला दर विभागबाट स्वीकृत गरिए अनुसार कायम गरिएको छ । मेसिन आँैजार तथा उपकरणको भाडादर सम्बन्धित मेसिन प्रयोग गरी सडक निर्माण गर्दा वा अन्य कार्य गर्नुपर्दा डोजर, एक्साभेटर, रोलर, ग्रेडरआदिको दर सडक विभागबाट कायम गरिएअनुसार हुनेछ ।

निर्माणकार्य गरिने आयोजनामा श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको आवश्यक व्यवस्था गर्न सार्वजनिक खरीद ऐन, नियमावलीमा व्यवस्था भएको बीमालगायतका अन्य प्रावधानसमेत सम्बन्धित ज्याला दर प्रयोग गर्ने निकायले अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने छ । निर्माण सामग्रीको दर नेपाल सरकारका विभिन्न कार्यालय र संस्थानबाट लेखिआए बमोजिम केहीमा बढाउने र केहीमा घटाइने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

यस्तो छ दर

प्राप्त विवरणानुसार श्रमिकले ७५० प्रतिदिन ज्याला पाउँदै आएकामा अब भने ७९० प्राप्त गर्ने छन् । यस्तै फोहर÷ढल सफा गर्ने कामदारको हकमा रु एक हजार ७० बाट रु एक हजार १२५ ज्याला कायम गरिएको छ ।

दक्ष (डकर्मी, सिकर्मी, नकर्मी, चित्रकार बज्रकर्मी), प्लम्बर, ढुङ्गा र काठको बुट्टा’ का’ट्ने साधारण मूर्तिकार, आर्टिष्टको प्रतिदिन रु एक हजार ३० बाट एक हजार ८० पु¥याइएको छ । अ’र्धदक्ष उक्त कामदारको हकमा भने रु ८५४ बाट बढाएर रु ८९० पु¥याइएको छ । सामाजिक परिचालक, फोरमेन, खानीसम्बन्धी काम गर्ने कामदारको हकमा रु ७५० बाट रु ७९० पु¥याइएको छ ।

यसैगरी निर्माण कार्यका कामदार, मेकानिक्स, कालीगढ, अफिस असिष्टेन्ट, ड्रिल हेल्पर, सर्भे हेल्परआदिको हकमा भने रु ६९० बाट ७२५ पु¥याइएको छ । माली, सहायक परिचालक, स्वीपर, धोवी, वन हेरालु, चौकीदारआदिको रु ६३० बाट रु ६६० बनाइएको छ । सामान लोड अनलोड गर्नेको हकमा प्रति १०० किलो बराबर रु २१.५० बाट २३ पु¥याइएको छ । भरिया (प्रति ४० किलोसम्म) का लागि प्रतिदिन रु ७८५ बाट रु ८२५ पु¥याइएको छ ।

स्थानीय प्रशासनले निर्माण सामग्रीको दरसमेत कायम गरेको जनाएको छ । जसअनुसार ड’न्डी बाँ’ध्ने तार प्रतिकिलो ९९ र एमएम सोलिड स्वायर रडको प्रतिकिलो ७५ पु¥याइएको छ । यस्तै मेसिनबाट उत्पादित प्रतिहजार इँट्टाको काठमाडौँ महानगरपालिका भित्र यसअघि कै रु १६ हजार २०० कायम गरिएको छ भने चिम्नीबाट तयार भएको इँट्टाको रु १४ हजार ५४० कायम छ ।यो विवरणमा स्थानीय तह अनुसार फरकफरक मूल्य निर्धारण गरिएको छ । ज्याला निर्धारण समितिले हरेक वर्ष यसरी दर निर्धारण गर्दै आएको छ ।

मौद्रिक नीति : यस्ता छन् व्यवसायीका सुझाव

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिको राम्रै चर्चा भयो । कोरोनाका कारण सङ्कटमा परेको व्यापार व्यवसायको विस्तार तथा वित्तीय क्षेत्रको स्थायित्वका लागि मौद्रिक नीति धेरै हदसम्म सफल रह्यो ।

केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहेको छ । केही दिन भित्रै बैंकले यसको सार्वजनिक गर्ने तयारी गरेको छ । सङ्कटमा परेको अर्थतन्त्रलाई थोरै भए पनि राहत दिनका लागि गत आवको मौद्रिक नीति कामयावी भएजस्तै चालू आवमा पनि त्यस्तै अपेक्षा सबै क्षेत्रले गरेको छ ।

कोरोना कहरको पहिलो लहरका कारण थलिएको व्यवसाय थोरै उठ्न नपाउँदै दोस्रो लहरको चपेटमा प¥यो । झण्डै दुई महिना मुलुकले पुनः निषेधाज्ञा नै लगाउनुप¥यो । साउनको दोस्रो साता लाग्दा नलाग्दै निषेधाज्ञालाई धेरै खुकुलो बनाएको छ । यद्यपि कोरोनाको सङ्क्रमणको मात्रा थोरै कम भए पनि जोखिम उत्तिकै छ ।

कोरोनाले उद्योग व्यवसाय, साना तथा मझौला उद्योग तथा दैनिक रोजीरोटी गरेर खाने सबैलाई प्रभावित बनायो । झण्डै चार लाख मानिस गरिबीको रेखामुनि धकेलिएको विवरण प्राप्त भएको अर्थमन्त्रालयको भनाइ छ ।

कोरोनाको तेस्रो लहर आउने सङ्केतहरु पनि देखिएका छन् । बन्द भएको व्यवसायलाई पुनरुत्थान गर्नुपर्ने तथा आर्थिक वृद्धिलाई पनि अगाडि बढाउनुपर्ने बाध्यताका बीचमा चालू आवको मौद्रिक नीतिको तयारीमा केन्द्रीय बैंक जुटेको छ ।

उद्योग प्रतिष्ठान, व्यापार व्यवसाय क्रमशः उठ्ने तर्खर गरे पनि कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटेल तथा पर्यटन क्षेत्रले यस पटकको मौद्रिक नीतिबाट बढी नै अपेक्षा राखेको छ ।

नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्सले कोरोना कहरबाट समस्यामा परेको पर्यटन क्षेत्रलाई पूर्ण रुपमा जीवित बनाउन राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

नाट्टाका अध्यक्ष अच्युत गुरागाईंका अनुसार कोभिड–१९ को प्रभावले चालू खर्चको व्यवस्थापनका लागि हाल प्रदान गरेको धितोका आधारमा नै थप २५ प्रतिशत ऋण प्रदान गर्नु जरुरी छ ।

पर्यटन क्षेत्रमा प्रवाह भएको ऋणलाई पुनर्कर्जाको व्यवस्था गर्नु जरुरी रहेको जनाउँदै नाट्टाले कर्जा तथा पुनर्कर्जा लिएको ऋणहरुको नवीकरण आगामी दुई वर्षसम्म स्वतः हुने व्यवस्था गर्नुपर्ने, सहुलियत ब्याजदरमा प्रदान गर्ने पुनर्कर्जाका लागि सम्बन्धित कम्पनीले ऋण उपयोग गरेको ३६५ दिनको बैंक स्टेटमेन्टलाई आधार मानेर प्रदान गर्नुपर्ने माग छ ।

पर्यटन व्यवसायी सरोज न्यौपाने प्रक्रियागत झन्झटका कारण साना तथा मझौला व्यवसायीले राष्ट्र बैंकले दिएको पुनर्कर्जाको सुविधा नपाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नीति राम्रो आए पनि कार्यान्वयनको तहमा पुग्दा सजिलो छैन । अनेकन झन्झट व्यहोर्नुपर्छ ।” भाडामा होटेल सञ्चालन गर्ने व्यवसायी धितोको अभावमा बैंक तथा वित्तीय संस्थाबाट राहत नपाउने अवस्था छ ।

पर्यटन क्षेत्रमा कार्यरत दक्ष कामदारहरु टुर गाइड, टे«किङ गाइड, टुर म्यानेजर, टुर अफिसर, टिकेटिङ अफिसर हवाई क्षेत्रमा कार्यरत कर्मचारी तथा होटेल क्षेत्रका कार्यरत श्रमिको त्यस क्षेत्रबाट पलायन हुनबाट रोक्नका लागि अनुभवको प्रमाणपत्र र सरकारले प्रदान गरेको प्रमाणपत्रका आधारमा सुलियतदरमा घरायसी खर्चका लागि दुई वर्षपछि ऋण भुक्तानी गर्न पाउने गरी ऋण प्रदान गर्न नाट्टाले आग्रह गरेको छ ।

कोरोनाका कारण घरायसी खर्च नै चलाउन समस्यामा परेको हजाराँै मजदूर छन् । उनीहरुले कुनै पनि प्रकारको राहत पाउन सकेका छैनन् । पर्यटन व्यवसायी न्यौपाने पनि पदयात्रामा जान नपाएको झण्डै १८ महिना भयो । व्यवसाय चौपट अवस्थामा पुगेको छ । पुनर्कर्जा तथा राहतका लागि प्रक्रियागत रुपमा रहेको झन्झट हटाउन सके धेरैले कठिनाइ भोग्नु नपर्ने उहाँको सुझाव छ ।

कोरोनाका कारण सङ्कटमा परेको अर्को क्षेत्र हो होटेल । होटेल सङ्घ नेपालले गत असार ८ गते नै नेपाल राष्ट्र बैंकलाई चालू आवको मौद्रिक नीतिका लागि विभिन्न सुझाव दिइसकेको छ । सङ्घ अध्यक्ष सिर्जना राणाका अनुसार हाल कायम रहेको पुनर्कर्जाको रकम थप गर्नुपर्ने तथा सो कर्जाको अवधि अर्का एक वर्षसम्म कायम राख्नुुपर्ने छ ।

पुनर्कर्जा प्रदान गर्दा हाल केन्द्रीय बैंकले तोकेका दरमा दुई प्रतिशतसम्म थप प्रिमियम लिइँदै आएकामा त्यसलाई घटाएर एक प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था हुनुपर्ने सङ्घको माग छ ।

कोरोनाका दोस्रो लहर कायम रहेको तथा तेस्रो लहरको सम्भावनासमेत रहेको अवस्थामा होटेल व्यवसाय पूर्ण रुपमा बन्द छ । बन्दाबन्दी अवस्थामा रहेको उद्योगलाई न्यूनतम मापदण्डमा कायम राख्नका लागि आवश्यक चालू पूँजीका रुपमा थप कोभिड कर्जा व्यवसायीको मागअनुसार उपलब्ध गराउन सङ्घले माग गरेको छ ।

हाल कायम रहेका कर्जाको किस्ता रकम गत वर्षसमेत पुनर्तालिकिकरण गरिसकिएकाले यस पटक पुनः सो सुविधा व्यावसायिक योजनाअनुसार गर्न पाउने व्यवस्था गर्न तथा साना एवम् मझौला होटेलका लागि कम्पनकिो लगानीको आधार र आवश्यक व्यावसायिक योजनाका आधारमा बढीमा रु पाँच करोडसम्म विनाधितो कर्जा प्रदान गर्नुपर्ने सङ्घको सुझाव छ ।

होटेल व्यवसायीले बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको जरिवाना शुल्क लिन नपाउने तथा व्यवसायीलाई कर्जा भुक्तानी गर्न बाध्यकारी बनाउन नपाउने तथा व्यवसायीको धितो लिलामी गर्ने जस्ता कार्य बाध्यकारी गर्न नहुने सङ्घको भनाइ छ ।

यस्तै सङ्घले कर्मचारीलाई कोरोनाको खोप उपलब्ध गराउन आग्रह गरेको छ । नेपाल विद्युत् प्राधिकरणबाट असुलउपर गरिने न्यूनतम डिमान्ड शुल्क बापतको रकम एक वर्षसम्मका लागि उपभोगका आधारमा मिनाहा गर्नुपर्ने, विद्युत् महसुल भुक्तानीमा ढिला हुन गएको कारणले लाग्ने अतिरिक्त शुल्क एक वर्षसम्म छुट दिनुपर्ने सङ्घको मौद्रिक नीतिलाई सुझाव छ ।

यस्तै सङ्घले विषम परिस्थितिलाई दृष्टिगत गर्दै होटेलको वित्तीय अवस्था अनुसारको साधारण शेयर बिक्रीका लागि सहजीकरण गर्नुपर्ने एवम् सामाजिक सुरक्षा कोषमा दाखिला गर्नुपर्ने रकम होटेल तथा पर्यटन क्षेत्रका लागि दुई महिनाबाट बढाएर दुई वर्षसम्म सरकारबाट जम्मा गरी उद्योगको जगेर्ना गर्नसमेत अनुरोध गरिएको छ ।

उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले पनि मौद्रिक नीति २०७७÷७८ मा उल्लेख भएका पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा आगामी आर्थिक वर्षमा पनि कायम राख्न, कोरोनाबाट अति प्रभावितको सूचीमा गत वर्षको निर्देशनमा छुटेका केही व्यवसाय समावेश गर्न माग गरेको छ । महासङ्घले संस्थागत रुपमा नै केन्द्रीय बैंकलाई मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषयका बारेमा सुझाव दिएको छ ।

महासङ्घले अति प्रभावित व्यवसायमा जाने पुनर्कर्जा सुविधामा तोकिएको रु २० करोडको सीमा बढाउन तथा अति प्रभावितभित्र पनि आगामी तीन वर्षसम्म पनि व्यवसाय सुधार हुने सम्भावना नरहेका व्यवसायलाई कूल कर्जाको ८० प्रतिशतसम्म पुनर्कर्जा सुविधा दिनुपर्ने महासङ्घको भनाइ छ ।

महासङ्घले बैंकहरुको क्षमता विकास गर्न तथा परियोजना कर्जा प्रवाह गर्दा बैंकलाई हुने जोखिम न्यूनीकरणका लागि कर्जा सुरक्षण निगममार्फत कर्जा बीमाको व्यवस्था गर्न र दातृ निकायबाट प्राप्त हुने रकम सुरक्षण प्रिमियका रुपमा प्रयोग गर्न सकिने व्यवस्था गर्न भनेको छ ।

महासङ्घले डिजिटल बैंकिङको प्रवद्र्धनलाई थप बढावा दिन, अनलाइन भुक्तानीलाई प्रोत्साहन गर्न तथा बैंकमा भौतिक उपस्थिति कम गरी कोभिड सङ्क्रमण कम गर्न अन्तर बैंक एटिएम प्रयोग तथा अनलाइन भुक्तानीलाई सहज बनाउन यसमा लाग्ने शुल्क घटाउन आग्रह गरेको छ ।

महत्वपूर्ण सरकारी कार्यालयमा सुशासन कायम गर्नसमेत महत्वपूर्ण हुने भएकाले सेवाग्राही र सेवा प्रदायकबीच भौतिक सम्पर्क नहुने गरी भुक्तानी प्रणालीको विस्तार एवम् व्यवस्थित गरिनुपर्नेमा जोड दिएको छ ।

महासङ्घले कोरोनाले प्रत्यक्ष असर पारेका हवाई क्षेत्रको कमा परिवत्र्य विदेशी मुद्रामा कर्जा लिएको हकमा नेपालमा पर्यटन आवागमन सञ्चालनमा नआउँदासम्मको अवस्थाका लागि नेपाली मुद्रामा भुक्तानी हुने व्यवस्था गर्न तथा कर्जा दिनुअघि वातावरणीय प्रभाव हेर्ने व्यवस्था खारेज गर्न केन्द्रीय बैंकलाई अनुरोध गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सले औपचारिक अर्थतन्त्रलाई भी सेपमा पुनरुत्थान गर्न सबै प्रकारका लघु, साना, मझौला, ठूला उद्योग एवम् व्यवसाय निर्यात क्षेत्र, हिला उद्यमशीलता तथा कृषि क्षेत्रका लागि थप भएको कोभिड–१९ प्रभावित पुनर्कर्जा रु दुई खर्ब तीन प्रतशित ब्याजदरमा दुईदेखि तीन वर्षसम्म विशेष व्यवस्था गरी कर्जा प्रवाह गर्न आग्रह गरेको छ ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लका अनुसार लघु, साना, मझौला, ठूला उद्योग, हिला उद्यमशीलता तथा कृषि क्षेत्रलाई निषेधाज्ञा अवधिभरको ब्याजमा ५० प्रतिशत छुट दिनुपर्ने, पुनर्कर्जा वितरणको कार्यविधि सरल र सहज बनाउन सुझाव दिइएको छ ।

चेम्बरले सबै उद्योग तथा व्यवसायले २०७८ असार र असोज महिनामा तिर्नुपर्ने ब्याज र साँवाको किस्ता कुनै शुल्क जरिवाना नलिई २०७८ चैत मसान्तसम्म बुझाउन सक्ने व्यवस्था मौद्रिक नीतिमा हुनुपर्ने बताएको छ ।

चालू आवको बजेटमा उल्लिखित ६.५ प्रतिशतको मुद्रास्फीति कायम राख्न चुनौतीपूर्ण नभए पनि आपूर्ति प्रणाली सहज बनाउन र सुलभ हुने खालको मौद्रिक नीति हुनुपर्ने स्पष्ट पार्दै चेम्बरले पूँजीगत खर्च प्रभावकारी बनाउन र कडाइका साथ अनुमगन गर्न माग गरेको छ ।

चेम्बरले आर्थिक गतिविधिको विस्तारका लागि एक अङ्कको ब्याजदर कायम गर्ने व्यवस्था स्पष्ट रुपमा मौद्रिक नीतिमा समावेश गर्न तथा विदेशबाट फिर्ता हुन सक्ने १५ लाख श्रमिकलाई स्वदेशमा नै रोजगारी प्रदान गर्ने गरी लगानी प्रोत्साहित गर्ने खालको नीति जरुरी रहेको बताएको छ । चेम्बरले विभिन्न ३७ बुँदामा आफनो सुझाव दिँदै घर जग्गा व्यवसायको कर्जा प्रवाह गर्दा धितो मूल्याङ्कनको कम्तीमा पनि ७० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था गर्न भनेको छ ।

नेपाल उद्योग परिसङ्घका नवनिर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवालका अनुसार आर्थिक पुनरुत्थान एवम् उत्पादन वृद्धि गरी अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले संरचनागत सुधार र क्षेत्रगत सहुलियत एवम् सुविधा उपलब्ध गराउनुपर्ने नै आफूहरुको प्रमुख माग हो । परिसङ्घले मौद्रिक नीतिको सुझावमा तरलता व्यवस्थापन, ब्याजदर वृद्धि नियन्त्रण, पुनर्कर्जा सुविधाको निरन्तरता र मूल्यवृद्धि नियन्त्रणमा नेपाल राष्ट्र बैंकले काम गर्नुपर्ने उल्लेख गरेको छ ।

आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन परिसंङ्घले अगाडि सारेको ‘मेक इन नेपाल–स्वदेशी अभियान’ अगाडि बढाएको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको आधार तयार पार्ने गरी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस्