Tuesday, September 27

बालेन्द्रको विजयमा उर्लियो काठमाडौँ, रातभर नाचगान, सडकमा जाम

May 27, 2022 223

काठमाडौँ । बालेन्द्र साह काठमाडौँ महानगरपालिकाको प्रमुख निर्वाचित भएपछि राजधानीवासीले भव्य रुपमा उनीप्रति सम्मान प्रकट गरेका छन् । बिहीबार बिहानैदेखि सडक र चोक तथा गल्लीहरुमा उनको समर्थनमा जुलुस निस्किएका थिए । मतगणना ढिलो सकिएकाले राति अबेरसम्म सडकमै नाचगान चलेको थियो । मतगणनास्थल राष्ट्रिय सभागृहमा त भिड व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । समर्थकहरुको भिडकै कारण सडकमा घन्टौँ जाम भएको थियो ।

शुक्रबार बिहान साढे ६ बजे सभागृहबाट उनको विजय जुलुस हुने भएको छ । उक्त जुलुस भद्रकाली, त्रिपुरेश्वर, माइतीघर सर्भिस ट्र्याक दक्षिण हुँदै बबरमहल, बिजुलीबजार, युएन पार्क कोरिडोर जानेछ ।

त्यस्तै शान्तिनगर, तीनकुने, कोटेश्वर, जडिबुटी, पेप्सीकोलाबाबाट फिर्ता हुनेछ । फिर्ता भएको जुलुस कोटेश्वर, तीनकुने, सिनामङ्गल, एयरपोर्ट, तिलगंगा, गौशाला, चाबहिल, महारजगञ्ज, सामाखुशी भएर नयाँ बसपार्क पुग्नेछ।

त्यहाँबाट बालाजु, स्वयम्भू, सीतापाइला, कलंकी, बल्खु, कुलेश्वर, कालीमाटी, टेकु, त्रिपुरेश्वोर, सुन्धारा हुँदै खुल्लामञ्चमा पुगेर धन्यवाद सभामा परिणत हुनेछ ।

स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको प्रमुखमा निर्वाचित भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।

साह ३२ वर्षीय हुन् । उनी स्ट्रक्चरल इन्जिनियर हुन् । काठमाडौँका युवा मतदाताको उनमा विशेष आकर्षण छ । ठूला दलहरुका गठबन्धनलाई एक्ला बालेन्द्रले २३ हजार मतको अन्तरले पराजित गर्नुले पनि उनीप्रतिको आकर्षण पुष्टि हुन्छ । धेरै विश्लेषकले भने उनले पाएको मत मूल धारका दलहरु बेथितिग्रस्त भएकाले उनीप्रतिको वितृष्णा र आक्रोशको मत बालेन्द्रले पाएको भनेर टिप्पणी गरेका छन् ।

उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भएकी छन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मात्र मत पाए । डंगोलले ४४ हजारभन्दा बढी मतको अन्तरले गठबन्धनलाई पराजित गरेकी हुन् । साह र डंगोलले कांग्रेससहित पाँच दलको गठबन्धनलाई पराजित गरेका हुन् ।

प्रतिकृया दिनुहोस्