Tuesday, September 27

आजबाट प्रतिक्षित चलचित्र ‘कबड्डी ४’ प्रदर्शनमा, काजिको विवाह भयो कि भएन त ?

May 27, 2022 328

आजबाट देशव्यापी रुपमा प्रतिक्षित चलचित्र ‘कबड्डी ४’ प्रदर्शनमा आएको छ । ‘कबड्डी ४ : द फाइनल म्याच’ भनिएको कबड्डी सिरिजको यो चौथो तथा अन्तिम सिरिज हो । यसैले पनि काजिको विवाह हुन्छ हुदैन भन्ने सबैमा प्रतीक्षा थियो । बलियो स्टार कास्ट, ट्रेलर र ‘केशरी’ गीतले बढाएको हाइप, ब्रान्ड चलचित्रको सिरिज भएकाले काठमाडौंसहितका मल्टीप्लेक्सहरुले प्रदर्शनको ५ दिन अगावैदेखि अग्रिम बुकिङ खुलाएका थिए । मल्टीप्लेक्सहरुले चलचित्रलाई अग्रिम बुकिङमै ठूलो शो बाँडेका छन् । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं र मोफसलका ११ वटा स्टेशनमा चलचित्रलाई ९८ शो दिएको छ भने केही शो सोल्डआउट नै भइसकेका छन् ।

क्यूएफएक्स अन्तर्गतको लबिम मलमा आज शुक्रवार विहान ८ बजेको शो हाउसफुल भएको छ । त्यस्तै, विर्तामोडको वान् स्टप हलको साढे ११ बजेको शो र साँझ ८ बजेको शो पनि सोल्डआउट भइसकेको छ । यता इटहरीको इलाइट सिनेमा र सिनेफ्लेक दुवै सिनेमा हलको सम्पूर्ण शोहरु हाउसफुल भएको छ । क्यूएफएक्सको अन्य हलहरुमा चलचित्रको टिकट बुकिङ आक्रामक देखिएको छ । क्यूएफएक्स चेनबाटै चलचित्रले प्रदर्शनको आज पहिलो दिन नै ३० लाखमाथि कमाउने सम्भावना देखिन्छ । काठमाडौंका बिग मुभिज, वान् सिनेमाज्, एफक्यूब सिनेमाज्, क्यूज सिनेमाज् लगायतका मल्टीप्लेक्सहरुमा पनि चलचित्रको टिकट आक्रामक रुपमा बुकिङ भइरहेको जानकारी प्राप्त छ ।

चलचित्रको एड्भान्स बुकिङमा देखिएको क्रेजलाई हेर्ने हो भने ‘कबड्डी ४’को ओपनिङ विजनेश नेपाली चलचित्रको अहिलेसम्मकै सबैभन्दा ठूलो हुने देखिन्छ । चलचित्रले आज शुक्रबार मात्रै दुई करोड नजिकको व्यापार गर्ने आँकलन गरिएको छ । पहिलो विकेन्डमा चलचित्रले ६ करोड पार गर्न सक्नेछ । चलचित्रलाई हलमा लामो रेसको घोडा बन्न भने बलियो वर्ड अफ माउथको आवश्यकता पर्नेछ । रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । नेपालसँगै यो चलचित्र विदेशका विभिन्न ठाउँमा पनि शुक्रवारबाटै प्रदर्शनमा आउँदैछ ।

प्रतिकृया दिनुहोस्