Friday, June 18

चट्याङले घाइते लमजुङका एक विद्यार्थीको मृत्यु [अपडेट]

March 16, 2021 117

हेलिकप्टरमार्फत पोखरा लगेर मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका अन्दाजी १७ वर्षीय विनोद विश्वकर्माको साँझ साँढे ५ बजेतिर मृत्यु भएको हो । उपचारस्थलमा रहेका क्‍व्होलासोथार गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार हेलिकप्टरबाट उपचारका लागि ल्याइएका ३ जनालाई तत्काल मणिपाल लगिएकोमा उपचार गर्दागर्दै मृत्यु भएको डाक्टरले घोषणा गरेका थिए ।

भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विश्वकर्मासँगै छविन्द्र गुरुङ र रेशबहादुर गुरुङ घाइते भएका थिए । विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङका अनुसार मंगलबार दिउँसो सवा ३ बजेतिर परेको छट्याङले छात्राबासमा पढिरहेका विद्यार्थी घाइते भएका हुन् । उनीहरुलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गाउँपालिका अध्यक्ष घलेको सहयोगमा उपचारका लागि अस्पताल पुर्‍याइएपनि एक जनाको निधन भएको वडाअध्यक्ष खिमबहादुर गुरुङले बताए ।

उनीहरुलाई उपचारको लागि भुजुङबाट घलेगाउँसम्म जिपमार्फत लगेर घलेगाउँबाट हेलिकप्टरमार्फत पोखरा लगिएको थियो । चट्याङले छात्राबास भवनका साथै विद्यालय र छात्राबास नजिकैको इन्टरनेट डिभाइस र तारमा क्षति पुर्‍याएको छ ।

लमजुङको क्‍व्होलासोथार गाउँपालिका-४ भुजुङमा मंगलबार दिउँसो चट्याङ लागेर ३ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।

भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विनोद विश्वकर्मा, छविन्द्र गुरुङ र रेशबहादुर गुरुङ घाइते भएका हुन् । विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङका अनुसार मंगलबार दिउँसो सवा ३ बजेतिर चट्याङ पर्दा छात्राबासमा पढिरहेका विद्यार्थी घाइते भएका हुन् । घाइतेमध्ये रेशबहादुरको हात नचलेको र अन्य २ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

उनीहरुलाई उपचारको लागि भुजुङबाट घलेगाउँसम्म जिपमार्फत लगेर थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

भुजुङ घर भएकी क्व्होलासोथार कार्यपालिका सदस्य गमीमाया गुरुङका अनुसार घाइते विद्यार्थीलाई पोखरास्थित गण्डकी अस्पताल लगिएको छ ।

प्रतिकृया दिनुहोस्