Friday, June 18

बाघको त्रासले बस्ती सार्न माग

March 17, 2021 207

७ महिनादेखि बाघको डरले स्वतन्त्र हिँडडुल र खेतबारीमा काम गर्न नपाएको गुनासो
बर्दिया — मधुवन नगरपालिका–३ भगरैयाका ५७ वर्षीय सनतकुमार शाहको घर सामुन्नेबाट प्रायः पाटेबाघ ओहोरदोहोर गर्छ । घरनजिक बजार छैन । दैनिक उपभोग्य वस्तु किनमेल गर्न ओराली बजार जानुपर्छ । ‘दिउँसै हिँड्ने आँट आउँदैन,’ शाहले भने, ‘यहाँ प्रायः बाघले उज्यालोमै आक्रमण गरिरहेको छ ।’ उनीजस्तै स्थानीय सुधन थारू छोरीछोरी खातास्थित विद्यालयबाट घर नफर्केसम्म छटपटिने गर्छिन् । शाहका अनुसार यहाँका बासिन्दा साँझ परेपछि एक घरबाट अर्कोमा जाँदैनन् । गत असोज ५ गतेदेखि बाघले निरन्तर खाता जैविकमार्गअन्तर्गतका विभिन्न बस्तीका ५ जनाको ज्यान लिएपछि स्थानीय त्रसित छन् । ६० हाराहारी घर रहेको भगरैया गाउँ सबैभन्दा चपेटामा छ । स्थानीयले ७ महिनादेखि बाघको डरले स्वतन्त्र हिँडडुल र खेतबारीमा काम गर्न नपाएको बताए ।

स्थानीय दुर्गा केसीले गाउँमा कोही बिरामी परे उपचारका लागि बस्ती बाहिर लैजान १०/१२ जनाको समूह बनाउने गरेको बताइन् । ‘अस्पताल पनि टाढै छ । एम्बुलेन्स पनि समयमा पाइँदैन,’ उनले भनिन्, ‘जंगलको बाटो हिँडेर जाँदा बाघको डर छ ।’ बर्दिया निकुञ्ज र सीमावर्ती भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष आउजाउ गर्ने खाता जैविकमार्गमा एक दर्जनभन्दा बढी सामुदायिक वन छन् । यसै वनबाट दिनहुँ बाघ, हात्तीलगायत वन्यजन्तु ओहोरदोहोर गर्छन् । सम्साँझै घरभित्र पसेका गाउँले बिहान ७ बजे नजिकको सशस्त्र प्रहरीको सुरक्षा पोस्टमा फोन गरेर बाघको अवस्थाबारे जानकारी लिएरमात्र घर बाहिर जाने गरेका छन् । एक महिनायता घरमा बाँधेर राखेको एक दर्जनभन्दा बढी गाई, गोरु र बाख्रा बाघले खाइसकेको छ । खाता जैविकमार्गअन्तर्गत कोठियाघाट, भगरैया, बेलझुन्डी, धनौरालगायतका गाउँ विगत दुई दशकदेखि वन्यजन्तुबाट पीडित रहेको धनौराकी सरस्वती शाहले बताइन् । सुरक्षा नभए बस्ती नै पाएक पर्ने ठाउँमा स्थानान्तरण गर्नुपर्ने उनको भनाइ छ । विगतमा हात्ती र चित्तलले बालीनाली क्षति पुर्‍याएपछि यहाँका बासिन्दाले मेन्थालगायतका जडीबुटी खेती गरेका थिए । जडीबुटीबाट उत्पादन राम्रो नभएपछि यहाँ निजी वन लगाए । वन हुर्केका कारण पनि वन्यजन्तु बढ्दै गएको स्थानीयले बताए । बाघको संख्या बढेपछि उसका लागि क्षेत्र कम भई मानव बस्तीमा पस्ने गरेको वनका कर्मचारीको आकलन छ ।

स्थानीय वीरबहादुर वंशीमगरले ६/७ वर्षदेखि नै पायक पर्ने ठाउँमा बस्ती स्थानान्तरणको माग गर्दै आएको बताए । ६० घरधुरीका ९० बिघाभन्दा बढी जमिन रहेको भगरैयामा वन्यजन्तुबाट जोगिन सुरक्षासहित तारजाली लगाउनुपर्ने माग उठे पनि सरकारी निकायले कुनै चासो नदिएको उनले गुनासो पोखे । मधुवन–३ सम्झना सामुदायिक वनका अध्यक्ष एवं बडघर टीकाराम थारूले तारजाली लगाए पनि यहाँ वन्यजन्तुबाट कहिल्यै सुरक्षा नहुने बताए । ‘वन बढेकाले वन्यजन्तु पनि बढिरहेका छन्,’ उनले भने, ‘बस्ती स्थानान्तरण जरुरी छ ।’

मधुवन नगरपालिकाले स्थानीयको सुरक्षा माग पूरा गर्न वन विभाग, सम्बन्धित मन्त्रालयसमक्ष पत्र पठाएको जनाएको छ । नगर प्रमुख गणेश केसीले जनताको जीउधनलाई वन्यजन्तुबाट जोगाउन सरकारले चासो नदिए जंगलको काम नभएको बताए । ‘यस क्षेत्रका बस्तीलाई वन्यजन्तुबाट सुरक्षा दिनुपर्‍यो वा अन्यत्र स्थानान्तरण गर्नुपर्‍यो,’ उनले भने, ‘सरकारले वास्ता गरेन भने बाध्य भई आन्दोलन गर्छौं ।’

यस क्षेत्रमा चारवटा बाघसहित डमरु रहेको अनुमान वनका कर्मचारीको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बाघ पहिचान गर्न क्यामेरा ट्र्यापिङ भइरहेको बताए । ‘बस्ती स्थानान्तरण गर्ने प्रक्रिया झन्झटिलो र समय लाग्ने भएकाले नागरिकको सुरक्षा पहिलो प्राथमिकता हो,’ उनले भने, ‘बाघलाई डट गर्ने काम मंगलबारबाट भएको छ ।’ बाघलाई नियन्त्रणमा लिन गेरवा गापा–४ को मध्यवर्ती क्षेत्र र मधुवनको खाता जैविकमार्गमा क्यामेरा जडान गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले खाता जैविकमार्ग र गेरुवा मध्यवर्ती क्षेत्रको वनका लागि ३/३ वटा हात्ती चितवन निकुञ्जबाट झिकाई प्राविधिक टोली परिचालन गरिएको बताए । राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि बाघ नियन्त्रणका लागि प्राविधिक टोली खटाएको छ ।

प्रतिकृया दिनुहोस्