Saturday, July 24

स्टाफ नर्स आमाको कोरोनाका कारण मृत्यु, ३ महिने दुधे बालकको बिचल्ली !

April 20, 2021 208

बाँके । बाँकेमा आज कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्स अनिशा ओलीको आज बिहान ११ बजेतिर उपचारकै क्रममा मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार ६ दिनदेखि भेरी अस्पतालमा उपचार गराइरहेकी स्टाफ नर्स ओलीको मृत्यु भएको हो । मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रहेकी थिइन् । उनको ३ महिनाको छोरा पनि रहेका छन् ।

यसैगरी बाँकेमा होम आइसोलेशनमा रहेका कोहलपुर नगरपालिका–१४ का ७५ वर्षीय सङ्क्रमित पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिए ।

उनका अनुसार आइतबार कोरोना सङ्क्रमण पुष्टि भएका दीर्घ रोगीका बिरामीलाई परिवारकै आग्रहमा होम आइसोलेशनमा राखिएको अवस्थामा आज बिहान करीब १ बजे मृत्यु भएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्