Wednesday, September 22

२० महिनादेखि काबुलको होटलमा थुनिएका बालकुमार

August 20, 2021 356

मंगलबार चिजा श्रेष्ठको घर पुग्दा उनी फोनमा व्यस्त थिइन्।

‘बुबालाई देख्न पाउनुभएन, आमा सधैं पिर मान्नुहुन्छ। तपाईं कति पैसा-पैसा भन्नुहुन्छ?’ चिजा फोनमा भनिरहेकी थिइन्, ‘अब कामसाम गर्नुपर्दैन, खुरूक्क नेपाल आउनु।’

अफगानिस्तान, काबुलस्थित एउटा होटलमा बीस महिनादेखि थुनिएका छन् उनका श्रीमान बालकुमार श्रेष्ठ। दलालले कामको लोभ देखाएर त्यहाँ लगेको यतिका समय भए पनि बालकुमारले अहिलेसम्म काम पाएका छैनन्।

तालिबानले अफगानिस्तान कब्जा गरेसँगै चिजालाई उनका श्रीमानको सुरक्षाको चिन्ताले गाँजेको छ। तर बालकुमारलाई अफगानी दलालले हालसालै संयुक्त राष्ट्र संघीय मिसनमा सुरक्षा गार्डको जागिर मिलाइदिने आश्वासन दिएका रहेछन्।

त्यही कुरा बालकुमारले चिजालाई भनेका थिए। महिनौं बिना काम थुनिएर बसेका श्रीमानले काम पाउने खबरले चिजालाई खुसी बनाएको छैन। टिभीमा अफगानिस्तानको दर्दनाक अवस्था नियालिरहेकी उनलाई श्रीमानको कुरा चित्त पनि बुझेको छैन। त्यहाँ कुनै पनि कामको पछि नलाग्न सम्झाइरहेकी छन्।

‘बीस महिनासम्म नगरेको काम, अब पाइन्छ र! अझै आश राख्ने हो? खाली त्यही भन्ने,’ उनले श्रीमानलाई भनिन्।

फोन राखेपछि बल्ल उनलाई भेट्न पुगेका हामीतिर फर्किइन्।

पोखरा, सिद्धार्थचोकभन्दा केही तलको गल्लीभित्र चिजा सिलाइ–कटाइको काम गर्छिन्। उनले खोलेको श्रेष्ठ टेलरिङमा बोर्ड छैन, बाहिरबाट हेर्दा देखिँदैन पनि। एउटा सानो कोठामा उनी र अरू दुई महिला काम गर्छन्।

एघार वर्ष भयो मैले यहाँ काम थालेको,’ उनले भनिन्, ‘अहिलेसम्म राम्रै छ। एकपटक कपडा सिलाउन आउने ग्राहक प्रायः हामीकहाँ नै आउनुहुन्छ।’

लमजुङको मध्यनेपाल-५ समिभञ्ज्याङका बालकुमारसँग बिहे गरेपछि चिजा पाँच वर्ष गाउँमै थिइन्। बालकुमार नेपाली सेनामा जागिरे थिए। चिजाले सिलाइ तालिम लिएर अरूको पसलमा काम गरिन्। ११ वर्षअघि आफैं यो सानो कोठाबाट व्यवसाय थालेकी हुन्।

‘यहाँ आएपछि कुनै समस्या परेको छैन। घरबेटीले कोठा छोड नभनेसम्म यहीँ बस्छु,’ उनले भनिन्।

बालकुमारले १६ वर्ष सेनाको जागिर खाएर २०७२ सालमा अवकाश लिए। यसपछि श्रीमतीसँगै पोखरा बसेका उनले सुरक्षा गार्डको जागिर खाए। नेपाली सेनाबाट छिट्टै अवकाश लिनुमा उनले विदेश गएर पैसा कमाउने आकांक्षा पनि पालेका थिए। गार्डको जागिर गर्दा दुई-तीन महिनाभन्दा बढी टिक्थेनन्। विदेशिने हुटहुटीले उनलाई यस्तो छट्पटी भएको थियो।

यसरी काम गर्दै छाड्दै गरेर बालकुमारले पोखरामा चार वर्ष बिताए। चिजा उनलाई नेपालै बसेर काम गर्न फकाइरहन्थिन्।

‘एक पटक विदेश गएर पैसा कमाउँछु भन्नुहुन्थ्यो जतिखेर पनि,’ चिजाले भनिन्, ‘विदेश नै जाने हो भने अफगानिस्तान नभएर अरूतिर जान सकिन्थ्यो।’

अफगानिस्तानमा खतरा हुन्छ भन्ने बुझेकी उनले श्रीमानलाई रोक्ने प्रयास गरिन्। बालकुमार भने त्यहीँ जान कस्सिए। माओवादी युद्धताका सेना रहेका उनलाई पैसा कमाउन अफगानिस्तानको खतरा मोल्ने आँट थियो।

‘म वैधानिक तरिकाले अफगानिस्तान आएको होइन,’ बालकुमारले हामीलाई फोन तथा भ्वाइस मेसेजमा भएको कुराकानीमा भने, ‘काठमाडौंबाट दुबई हुँदै आइपुगेको हुँ।’

उनी २०७६, पुस २२ गते उडेका हुन्। अफगानिस्तान जान भारतबाट भिसा लिएका थिए। जाने बेला काठमाडौंबाट उडे। त्यतिबेला उनलाई दलालले काबुलस्थित जर्मन दूतावासमा सुरक्षा गार्डको काम लगाइदिने भनेका थिए। तलब मासिक एक हजार अमेरिकी डलर हुने आश्वासन दिए।

यसरी अवैध रूपमा अफगानिस्तान जाने बालकुमार एक्ला थिएनन्, साथमा अरू चार नेपाली थिए। उनीहरूलाई काबुलका स्थानीय दलालले एउटा होटलमा लगे। त्यहाँ पहिल्यै सात-आठ जना नेपाली थिए। केही समयमै कोही काममा लागे त कोही नेपाल फर्किए।

बालकुमारका अनुसार उनीसँग गएका चार जनामध्ये एकले नेपाली सेनामा जागिर खाएको नक्कली कागजात देखाएका रहेछन्। त्यो थाहा पाएपछि उनले जागिर पाउने सम्भावना रहेन, तत्काल फर्काइए। अरू दुई जनाले काम पाए।

बालकुमार र स्याङ्जाका अर्का एक युवालाई भने पुगेको झन्डै दुई वर्षसम्म दलालले काममा नलगाइदिएको उनले बताए। स्याङ्जाका युवा पनि पासपोर्टको मिति सकिएकाले दुई महिनाअघि नेपाल फर्किसके। सँगै गएका चारमध्ये अब एक जना बालकुमार मात्र त्यहाँ छन्। न फर्किने टुंगो छ, न कामको।

‘दलालले सुरूमा जुन होटलमा ल्याएर राखेको थियो, त्यहीँ बसिरहेको छु,’ बालकुमारले भने, ‘बाहिर निस्कन त के, काबुल बजार कस्तो छ भनेर अहिलेसम्म देख्न पाएको छैन।’

बीस महिनामा दलालले उनलाई पटकपटक कामको आश्वासन दिए। पुगेको एकाध महिनामै कोरोना महामारीले काबुलमा लकडाउन भयो। लकडाउन खुलेपछि काम पाइन्छ भन्दै दलालले फकाए। लकडाउन खुल्यो, बालकुमारले काम पाएनन्।

दलालले फेरि नयाँ वर्षदेखि काम पाइन्छ भने। वर्ष २०२१ आधाआधी सकिँदा समेत उनले काम पाएनन्।

सुरूमा छ लाख रूपैयाँ तिरेर गएका बालकुमार र अरूलाई यसबीच दलालले पैसा थप्न भने। चिजाले नेपाली दलाललाई दुईपटक गरी थप साढे तीन लाख पठाइन्। नेपाली दलालले पनि पैसा थपेर अफगानी दलाललाई पठाएको चिजा बताउँछिन्। पैसा कम पठाएकै कारण बालकुमारले काम पाउन नसकेको उनको बुझाइ छ।

‘अरूले १५-२० लाख पठाएर काम पाएका छन् रे। मैले त धेरै दिन सक्दिनँ भनेँ,’ चिजाले भनिन्, ‘अफगानिस्तानको दलालले जसले धेरै पैसा दिन्छ, उसैलाई काम मिलाइदिने रहेछ।’

बालकुमारले पनि त्यहाँ बसिरहँदा यो कुरा बुझे। केही समयअघि काठमाडौंबाट अर्का दलालले युवाहरू अफगानिस्तान पठाउन लागेको थाहा पाएर ती युवालाई फोन गरेर बालकुमारले भनिदिएछन्, ‘अहिलेसम्म काम पाएका छैनौं। होटलमा थुनिनुपरेको छ। तपाईंहरू नआउँदै ठीक होला।’

धेरै पैसा तिर्न ठिक्क परेका युवा भड्काएको भन्दै दलाल बालकुमारसँग रिसाए। अफगानी दलाल पनि झोंक्किए। होटल पुगेर बालकुमार लगायत केही युवाको मोबाइल खोसे।

त्यसैले आजकाल चिजा र बालकुमारको जुनसुकै समय कुरा हुन पाउँदैन। बालकुमारसँग सिमकार्ड नभएकाले फोन सम्भव भएन। होटलमा कहिले इन्टरनेट नचल्ने, पैसा तिर्न ढिला हुने, बिजुली नहुने समस्या आइपर्छ।

लगातार तीन दिनसम्म कुरा गर्न नपाएपछि चिजाले काठमाडौंस्थित दलाललाई फोन गरेर श्रीमानसँग सम्पर्क हुन नपाएको गुनासो पोखिन्। ती दलालले बालकुमारसहित केहीको फोन खोसिएको जानकारी दिए।

चिजाले आत्तिएर भनिन्, ‘मेरो श्रीमानलाई अहिलेसम्म कसरी राखेको छ, के गरेछ। केही भइहाल्यो भने तपाईं जिम्मेवार हुनुपर्छ।’

दलालले सबै ठीकै छ, आत्तिनुपर्दैन भने पनि चिजाको मन थामिएन, ‘होटलमा थुनिएका श्रीमानसँग लगातार पाँच-छ दिनसम्म सम्पर्क हुन नपाउँदा एकदम आत्तिएकी थिएँ।’

यही तनावबीच अफगानिस्तानबाट नराम्रा खबर आउन थाले। उता श्रीमान काम नपाएर आत्तिएका, यता श्रीमती श्रीमानको चिन्ताले।

तालिबानले सत्ता कब्जा गरेपछि बालकुमार बसेको होटलमा मान्छेको चाप बढेको छ। उनले भने, ‘होटल भरिएको छ, नेपाली मात्रै १३ जना पुगिसक्यौं। यहाँका अरू होटलमा पनि नेपाली थुनिएका छन्।’

बालकुमारलाई जानकारी भएअनुसार तीन होटलमा १९ नेपाली छन्। ती सबै आफ्नो सम्पर्कमा रहेको उनले बताए। त्यही भिडमा बालकुमारले आफूजस्तै झन्डै दुई वर्ष होटलमा थुनिएर बसेका अर्का व्यक्ति पनि भेटेका छन्। त्यहाँ अवैध रूपमा गएर कामको खोजीमा सबभन्दा लामो समय होटलमा थुनिएर बस्नेहरू उनीहरू नै हुन्।

तालिबानले कब्जा गर्नुभन्दा केही महिनाअघिसम्म बालकुमार होटल नजिकै पसलसम्म जान पाएका थिए। खाद्यान्न किन्न पाउँथे। अहिले त्यो पनि ठप्प छ। होटलको छत र बगैंचासम्म मात्र हो निस्किन पाउने। त्यहाँबाट उनी बाहिरको दृश्य अलिअलि नियाल्छन्।

‘होटलको आडमै पहिले अफगानी सेना ड्युटीमा बस्थे, अहिले त्यही अखडामा हतियारधारी तालिबानी बस्छन्,’ बालकुमारले सुनाए।

तालिबानले सत्ता लिएपछि वैधानिक तरिकाले गएकाहरू फर्किन थालेका छन्। अवैध रूपमा जाने बालकुमार र उनीजस्तै अरूको भने बिचल्ली भएको छ।

अफगानिस्तानमा नेपाल मामिला दिल्लीस्थित नेपाली दूतावासले हेर्छ। काबुलमा भारतीय दूतावास छ। स्वदेश फर्कन चाहने नेपालीलाई पनि भारतीय दूतावासले नाम टिपाउन भनेपछि बालकुमारले टिपाएका थिए। दूतावासका अधिकारीले उनलाई भदौ १० गते चार्टर जहाज आउने भनेका छन्। उक्त विमान नेपालबाट कि भारतबाट आउने हो, उनलाई थाहा छैन। त्यो दिन काबुल छाड्न पाइन्छ किन पाइन्न, ढुक्क छैनन्। बसिरहेको होटलबाट विमानस्थलसम्म कसरी पुग्ने, यसबारे पनि कतैबाट जानकारी आएको छैन।

तर नेपाल वा भारतबाट उद्दार हुने जानकारी आउनासाथ भागेर भए पनि विमानस्थल पुग्ने तयारी धेरै नेपालीले गरेका बालकुमारले बताए।

‘म बसेको होटलमा नेपालीसँगै अरू देशका नागरिक र अफगानीहरू पनि छन्। उनीहरू अमेरिका लगायत अन्य देश जान पाइन्छ कि भनेर दिनहुँ विमानस्थल पुग्छन्,’ बालकुमारले भने, ‘कहीँ जान नपाएपछि साँझ होटलमै फर्कन्छन्।’

नजिकै हतियारधारी तालिबानी बसे पनि होटलमा छिरेका छैनन्। होटलका गार्ड समेत हतियार बोकेर बस्न थालेका छन्। बेलाबेला होटलका साहु आएर भन्छन्- तिमीहरू पाहुना हौ। तालिबानले केही गर्दैन। आत्तिनुपर्दैन।

यस्तो सुन्दा बालकुमार र त्यहाँ भएका अरूको मन अलि हलुका हुन्छ।

तालिबानले सत्ता लिएपछि बालकुमारलाई अफगानी दलालले पनि व्यवसायिक उडान भए नेपाल पठाइदिने भनेका थिए। तर पछिल्ला केही दिनयता काम मिलाइदिने भन्दै आएका छन्। यसपछि नै हो बालकुमार दोधारमा परेका।

उनी श्रीमती चिजालाई पनि भन्दैछन्- यतै काम गर्छु।

‘मैले त पहिल्यै जानुपर्दैन भनेकी। अहिले फेरि काम पाइन्छ कि भन्नुहुन्छ,’ चिजाका आँखा भरिए।

बालकुमारकी आमाको अवस्था उही छ। परिवारकै एक मात्र छोरा अफगानिस्तान हानिएपछि आमा जहिल्यै रून्छिन्। चिजालाई फोन गरेर छोरालाई छिटो घर बोलाऊ न भन्छिन्।

बालकुमार उता गएपछि २०७७ कात्तिक ३० गते उनका बुबाको पनि निधन भयो। काजकिरिया उनका काकाले गरिदिए।

‘कुरा त बुझ्नुहुन्छ होला। तर मनमा अफगानिस्तान जाँदा लागेको खर्च समेत नउठाइ कसरी फर्कने भन्ने छ कि,’ चिजा श्रीमानको अवस्था आकलन गर्छिन्, ‘पैसा कमाउन गएको, उल्टै ऋण लगाएर फर्कन मन नलागेको हुनुपर्छ।

चिजाले बालकुमार जाने बेला चर्को ब्याजमा व्यक्तिसँग ऋण लिएकी थिइन्। पछि बैंकबाट केही सस्तोमा लिएर तिरिन्। अहिले सिलाइकै कामबाट बैंकको ऋण घटाउँदै छिन्।

‘पैसा भन्ने कुरा आउँछ जान्छ। यसको चिन्ता नलिनु भन्छु नि, मान्दै मान्नु हुन्न,’ उनले भनिन्, ‘मैले यहाँ यत्ति गरिरहेकी छु, किन पैसा भनेर मरिहत्ते गरेको होला।’

बालकुमारसँगै गएर दुई महिनाअघि नेपाल फर्केका स्याङ्जाका युवाले दलालसँग आफ्नो पैसा फिर्ता मागेका छन्। एघार लाख बुझाएकोमा दलालले छ लाख फिर्ता दिने भनेको चिजाले बताइन्। बालकुमारलाई पनि नेपाल फर्काएर पैसा फिर्ता माग्ने योजना उनको छ। उता पठाउने दलालको कुनै कार्यालय, कम्पनी छैन। व्यक्ति–व्यक्तिमार्फत पठाइन्छ।

तर बालकुमार अहिलेसम्म आफूहरूलाई त्यहाँ कुनै खतरा नभएको भन्दै काम पाइने आशमा छन्। राष्ट्र संघीय मिसनमा सुरक्षा गार्ड काम पाउने आश्वासन दलालले दिए पनि अवैध रूपमा गएकालाई लिन्छ कि लिँदैन, उनलाई यकिन छैन।

चिजाले भने काठमाडौंस्थित दलाललाई फोन गरेर अब कामको आश्वासन नदिन र श्रीमानलाई जतिसक्दो छिटो नेपाल ल्याउन आग्रह गरेकी छिन्।

‘बीस महिना नपाएको काम अब चाहिँदैन। मेरो मान्छेलाई काठमाडौं ल्याइदिनु भनेकी छु,’ चिजाले भनिन्, ‘हुन्छ त भनेको छ।’

source : Setopati.com

प्रतिकृया दिनुहोस्