Wednesday, September 22

३० किलो तौल घटाएका दिन निशानी भन्छन- तौल घटाउने शरीरले होइन, दिमागले रहेछ

August 21, 2021 683

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो ।सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यासे’ देखिने हैन भन्दै लेक चरेर आएको भैंसीको घ्यूमा कुखुराको अण्डा फ्राई गरेर हजुरआमाले दिएको हिजो जस्तै लाग्छ ।

आज उहाँ ब्रह्मलिन हुनुभएको पनि ६ वर्ष भइसकेछ । ‘आई मिस यू’ हजुर आमा ।यसरी सानो छँदादेखि नै मोटोघाटो नै राम्रो देखिने रहेछ भन्ने छाप परिरह्यो । म त्यति धेरै हेर्नै नसकिने खालको अस्वाभाविक मोटो त कहिल्यै थिइनँ तर खाने कुराहरू मिलाएर खानुपर्छ भन्ने कहिल्यै लागेन ।

जे खान्छ, मजाले पचाउँछ भने जस्तै खानेकुरा देख्यो कि मुखमा हाल्ने आदत नै बस्यो ।उमेर र उचाइ अनुसार खानपानको ख्याल गर्नुपर्छ भन्ने कहिल्यै लागेन । मोटोघाटो नै राम्रो देखिन्छु भन्ने भ्रममा रमाइरहे ।पछिल्लो समय आफूलाई मन परेका कपडाहरू ‘लार्ज’ त्यो पनि एक्स्ट्रा लार्ज कमिजहरू किन्नुपरेको थियो ।

सोल्टिनीहरूले आँखा लगाउन छाडिसकेका थिए । शरीरमा स्फूर्ति र जुझारुपनमा कमी देखिएको थियो । ३–४ किलोमिटर हिँड्दा पनि शरीर थाक्ने जस्तो भएको थियो । शरीरकै कारण स्वीमिङ पुलमा रमाउन सकिरहेको थिइनँ । समुन्द्रमा नाङ्गै हिँड्न पनि असहज स्थिति बनेको थियो ।

समग्रमा भन्नुपर्दा मोटो शरीरको कारण मिठो–मिठो मुखले त खाएको थियो तर भौतिक सुखका अन्य पाटोहरू मदेखि बिस्तारै टाढा हुँदै थिए ।भाइसाथीहरूसँग भेट हुँदा ‘के खाएर हो यतिधेरै मोटाएको’ भन्ने जस्ता शब्द सुन्न थालिसकेको थिएँ, जसले मलाई मनमा पीर पारेको थियो ।

२ वर्ष अघिदेखि नै शरीरको तौल घ’टाउने प्रयास नगरेको पनि होइन तर किन–किन, प्रयासहरू अ’सफल भइरहेका थिए । ३–४ किलोग्राम घट्छ, फेरि ५ किलो बढ्छ । यस्तै ग’डबड भइरहेको थियो । १ महिना डा’इटमा बस्ने, फेरि खाने भइरहेको थियो ।

शारीरिक व्यायाममा पनि कुनै नियमितता थिएन । जाँगर चल्दा मात्रै दौडिने, उफ्रिने काम भइरहेको थियो । शरीरको तौल बढ्नुमा यस्तो आदत नै झन् सबैभन्दा खतरनाक हुने रहेछ । यो गर्दा पनि पनि हुँदैन, त्यो गर्दा पनि हुँदैन । मेरो शरीरको तौल ९५ किलोग्राम पुगिसकेको थियो ।

मेरो उमेर र उचाइ अनुसार हुनुपर्ने त ६५–७० किलोग्रामसम्म थियो । यसरी हेर्दा २५–३० किलोग्राम तौल मेरो शरीरका लागि बढी भइरहेको थियो । शरीरको पूर्ण परीक्षण गर्दा स्वास्थ्य समस्या केही नदेखिए पनि डाक्टरले तौल घटाउनुपर्ने सल्लाह दिइरहेका थिए । १ जना डाक्टरले त धेरै से’क्स गर्‍यो भने तौल घ’ट्छसम्म भनेका थिए ।

के गरौं, कसो गरौं ? म बडो तनावमा थिएँ । मैले धेरै मोटिभेसनल कुराहरू यूट्युबमा हेरें, गूगलमा सर्च गरें । डाइटिसियनसँग पनि कुरा गरें । सम्भव भएको जति अध्ययन गरें । त्यसबाट पत्ता लाग्यो – शरीरको तौल घटाउने काम दिमागको हो, सबैभन्दा ठूलो कुरा हो दिमाग बलियो हुनु, दिमागमा आत्मविश्वास हुनु ।

यति तौल घटाएरै छाड्छु भनेर प्राण गर्नु । निश्चित टार्गेट राखेर त्यसतर्फ लम्किनु ।अर्को हो – त्यसको सफलताका लागि अनुशासित हुनु अर्थात् नियमको पालना गर्नु ।मेरो खानपिनको आनीबानी यस्तो थियो कि घरमा पकाएको जति मिठो चौरासी व्यञ्जन भए पनि खानै मन नपर्ने, सधैं बाहिर खानुपर्ने ।

भाइसाथी बटुलेर सधैं बाहिर होटलतिर, रेस्टुरेन्टतिर खानुपर्ने । घरको त मिठो नै नहुने । म धेरै पटक घरको पाकेको खाना छाडेर होटलतिर खान गएको छु । अहिले सम्झिँदा हाँसो लाग्छ ।चिसो पेय पदार्थ जस्तो कि कोक एकदमै पिउनुपर्ने । चकलेट धेरै मन पर्ने, मासु पनि पूरै तोरीको तेलमा डुबाएर तारेको खानुपर्ने ।

आलु त कति मिठो हुने भनिसाध्य छैन । मैलै सबैभन्दा पहिला जे–जे कुरा नियमित रूपमा खाने गरेको थिएँ, त्यो सबै बन्द गरिदिए । मैले ‘फूड प्लान’ बनाएँ । १ हप्ताभित्र यो–यो खाने, त्यो पनि यति मात्रामा मात्रै खाने भनेर क्यालोरी गणना गर्न लागे ।मेरा बाबै नि !

४ दिनको लागि पुग्ने खाना पहिला त एकैदिन खाने रहेछु । त्यति धेरै खाना शरीरको लागि आवश्यक नै थिएन रहेछ । मैलै विगतमा दैनिक ४ हजारसम्म क्यालोरी खाएको रहेछु । त्यसलाई मैलै केही गरिनँ, त्यही क्यालोरी झारेर ७०० बनाएँ । तपाईंहरू आफैं विचार गर्नुहोस्, ४ हजार क्यालोरीलाई घटाएर दैनिक ७०० बनाउँदा शरीरलाई कति सजिलो होला ? कति हलुंगो होला ?

वास्तवमा हामीले मुखको मिठोको लागि शरीरलाई दुःख दिने गरेका रहेछौं । मैलै चिल्लो, पिरो, अमिलो, गुलियो, बाहिर बजारको खाना, होटल, रेस्टुरेन्टको खाना सबै बन्द गरिदिएँ । कहिलेकाहीँ झोक चल्दा महिनामा १ पटक जस्तो बाहिर रेस्टुरेन्ट गएर टन्न खाने गर्छु । सानो छँदा दशैंमा मिठो खाने कुरा खान पाएकोजस्तो लाग्छ त्यो दिन ।

बिहान उठेर खाली पेटमा ग्रिन टी पिउँछु, अलिकति अदुवा र कागती मिसाएर । त्यसपछि केही टुक्रा स्याउ खान्छु र दिउँसो १२ बजे खाना । खानामा जे पनि खाने तर तेल नहालेको, पानीमा उमालेको मात्र । त्यो मासु होस् कि अण्डा होस् कि सागपात, गेडागुडी जेसुकै होस्, तेल पटक्कै नहाल्ने ।

यसरी धेरै सागपात गेडागुडी, थोरै भात, रोटी यस्तै कार्बोहाइड्रेड खाने तर एकदमै थोरै । जस्तो कि रोटी हो भने ३ वटा जति, भात हो भने सय ग्राम जति । आखिर खाली पेट भर्ने कुरा हो । आधी किलो बन्दा गोभीले पनि पेट त भरिने रहेछ । दिउँसो १२ बजे खाना खाएपछि ६–७ बजेतिर भोक लाग्छ तर यो बीचमा पानीबाहेक केही पिउने गरिनँ ।

भोक लागेको अनुभव भएमा पानी पिउने गरें र ८ बजेतिर फेरि ग्रिन टी पिउने गरें, ९ बजेतिर त एकदमै भोक लाग्छ । शुरूशुरूमा यो सहन गारो हुन्छ । मर्छु कि क्या हो जस्तै हुन्छ । भोकका कारण निद्रा पनि लाग्दैन । ध्यान खानातिर नै गएको हुन्छ ।पेट कराउन थाल्छ ।

त्यस्तो अवस्थामा वास्तवमा नै शरीरमा तौल घट्ने प्रक्रिया शुरू हुने रहेछ । शरीरमा सञ्चित भएको फ्याट काटिने रहेछ ।यस्तो बेला खानु हुँदैन तर फलफुल जस्तो कि सुन्तला, स्याउ, अंगुर, सलाद खाएर भोक मेटाउन सकिन्छ । भोक मेटाउन मासु भात टन्न खानु हुँदैन ।

चाउचाउ, मःम, चाउमिन, चटपटे, कुरकुरे, चकटेल, कोक फेन्टा त झन् खानै हुँदैन । जुस खान मन लागे, घरमै बनाएर खान सकिन्छ चिनी नहालेर फ्रेस जुस ।खासगरी भोक लागेको बेला जे पाये त्यही खाँदा शरीरको तौल बढ्ने रहेछ । यस्तो बेलामा फलफूल, सलादबाहेक केही खानु हुँदैन ।

यसरी हेर्दा मैलै दिनमा १ छाक मात्रै खाए भन्दा पनि हुन्छ । विगतमा साँझ सुत्नुअघि पनि भात नै खाएर सुतिन्थ्यो । मःम, चाउमिन, रोटी, सेकुवा, आलु यस्तै–यस्तै । भात नै नखाए पनि पेटभरि केही न केही त हुन्थ्यो । राति धेरै खाएर सुत्यो भने त्यसले तौल बढ्न महत्त्वपूर्ण सहयोग गर्ने रहेछ ।

यसैले राति सकभर खानु हुँदैन र राति धेरै अनिदो बस्नु पनि हुँदैन । १ दिनमा ७ घण्टा जसरी पनि निदाउनुपर्छ । तौल घटाउने भनेर कतिपय मानिस बिहान पूरै नसुतेर उठेर डौडिएको देख्छु । त्यो सबैभन्दा खतरनाक हो । धेरै डौडिनु पर्दैन । दिउँसो घाम लागेको बेला पनि यसो २०–२५ मिनेट यताउति हिँडे पुग्छ ।

स्याँस्याँ फ्याँफ्याँ गर्नु पर्दैन । त्यो सबै नाटक हो । आफ्नो काम आफैं गर्ने बानीको विकास गरे कसरत केही गर्नु पर्दैन । कपडाहरू मशिनमा हालेर नधुने, सकभर आफैंले हातले धुने, किनमेलको लागि सवारीसाधन प्रयोग नगर्ने, आफैं हिँडेर जाने । १ घण्टा हिँडेर हुने काम गाडी नचढेर हिँडेर गर्ने ।

मैले खासै कसरत केही गर्दिनँ । अलिअलि सेटअप, पुसअप हो तर मुख्य आफ्नो काम आफैं गर्‍यो भने कसरत आवश्यक छैन । एक्टिभ लाइभ रहनेहरूलाई यो कसरत गर्नु नै पर्दैन । खाना कन्ट्रोल गरे मात्रै पुग्छ ।तौल घटाउनका लागि मात्रै जिम जानु पनि आवश्यक छैन ।

जिम जानु पैसाको खर्च र समयको बर्बादी मात्र हो । तौल घरभित्रै घट्छ तर शरीरको तौल घटाउनुभन्दा पहिले दिमागको तौल घटाउनुपर्छ । त्यो भनेको जिब्रोको स्वादको लागि दिनमा ३–४ पटक मिठो–मिठो खान छाड्नुपर्छ । मैलै १० महिनामा ३० किलोग्राम तौल घटाएँ । यसरी हेर्दा महिनामा ३ किलोग्रामको दरले घटेको देखियो ।

स्वस्थ तरिकाले तौल घटाउनु नै राम्रो कुरा हो । अहिले म ७० किलोग्राम पुग्नै लागेको छु । सम्भवतः यति भए पुग्यो तर एउटा चुनौती छ । त्यो भनेको तौल जसरी घट्यो, त्यसरी नै बढ्न सक्छ । फेरि पनि त्यही होटलको खाना चहारेर हिँड्ने कि घरमा नै मिठोमसिनो पकाएर सादा खाने ?

त्यो यही दिमागको आत्मविश्वासमा भर पर्छ । त्यसैले तौल घटाउने शरीरले होइन, दिमागले रहेछ ।आज मैले ‘एक्स्ट्रा लार्ज’बाट मिडियम साइजको टिसर्टमा आफूलाई फर्काएको छु । यो जीवनको सबैभन्दा ठूलो उपलब्धि त होइन तर सानो उपलब्धि पनि होइन । दिलनिशानी मगर/लोकान्तर

प्रतिकृया दिनुहोस्