Saturday, December 4

नागरिकता कीर्ते गर्ने मगर पर्सा प्रहरीको नियन्त्रणमा

March 18, 2021 231

वीरगन्ज (पर्सा), ५ चैत । पर्सा प्रहरीले दुई वटा नागरिकता कीर्ते गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं. ३ बस्ने २० वर्षीय सुजित थापा मगर रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधबार साँझ करिब ४ बजेको समयमा पर्सागढी वडा नं. ३ स्थितबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले लगाएको पाइन्टमा अगाडिको दाहिने खल्तीमा दुई थान नागरिकता भेटाएको थियो ।

मगरलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार निजको शरीर रीतपूर्वक खानतलासी गर्दा उनको खल्तीमा जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नंं. ३ बस्ने खुम बहादुर थापाको छोरा सन्त बहादुर थापाको नाउँको जिल्ला प्रशासन कार्यालय, पर्साबाट मिति २०७५ पुस ४ गतेमा जारी भएको (ना.प्र.नं.३४–०१–७५–१४२७४) को सक्कल नेपाली नागरिकता प्रमाणपत्र १ थान तथा सोही विवरण भएको नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रथम प्रतिलिपि १ थान फेला पारिएको छ ।

उनको साथबाट फेला परेको दुई थान नागरिकतामध्ये प्रतिलिपि नागरिकतामा निज सुजित थापा मगरले आफ्नो फोटो टाँसी कीर्ते कार्य गरेको देखिएकोले मगरलाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई लिखत सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालको भनाइ छ ।

प्रतिकृया दिनुहोस्