Wednesday, October 27

फ्रेन्चाइज टिममा एन्फाकै पदाधिकारी

March 22, 2021 286

काठमाडौं रेजर्सले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बालगोपाल महर्जन, एन्फाको लिग कमिटीका प्रमुख विज्ञानराज शर्माको नियुक्ति र राष्ट्रिय टिमका व्यवस्थापक मधुसूदन उपाध्यायको प्रत्यक्ष संलग्नतासँगै स्वार्थ बाझिने गरी देखिएको ‘दोहोरो जिम्मेवारी’ ले विवाद सिर्जना गरेको छ ।
काठमाडौँ — राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जन, राष्ट्रिय टिमका व्यवस्थापक मधुसूदन उपाध्याय र अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग कमिटीका प्रमुख विज्ञानराज शर्माले नेपाल सुपर लिग टिम काठमाडौं रेजर्सको जिम्मेवारी लिएका छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा देशकै प्रतिनिधित्व गर्ने राष्ट्रिय टिम र नेपाली फुटबलकै प्रमुख प्रतियोगिता लिगमा रहँदारहँदै स्वार्थ बाझिने गरी दोहोरो जिम्मेवारी लिँदै उनीहरू फ्रेन्चाइज टिममा पुगेका हुन् ।
कुनै पनि देशको फुटबलको मेरुदण्ड लिगलाई मानिन्छ । फुटबल संघको एउटा प्रमुख अंगका रूपमा लिग कमिटीलाई लिइन्छ । लिगलाई के कस्तो बनाउने कसरी सञ्चालन गर्ने भन्ने नीति नियम बनाउने र कार्यान्वयन गर्ने जिम्मेवार निकाय नै लिग कमिटी हो । एन्फाको लिग कमिटीका प्रमुख एवम् नेपाल प्रहरीका पूर्वएआईजी शर्मा रेजर्समा कार्यकारी निर्देशक र राष्ट्रिय टिमका महर्जन मुख्य प्रशिक्षक नियुक्त भएका छन् । एन्फाका केन्द्रीय सदस्यसमेत रहेका उपाध्याय पनि टिममा प्रत्यक्ष संलग्न छन् ।

चैत १० देखि दशरथ रंगशालामा हुने बंगलादेश र किर्गिस्तान यू–२३ टिम सम्मिलित त्रिदेशीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने नेपाली टिम पनि महर्जनले नै सम्हाल्दै छन्, तयारी उनकै नेतृत्वमा भइरहेको छ । उपाध्याय पनि उनीहरूकै साथमा देखिएका छन् । एन्फाकै जिम्मेवार पदमा रहेका उनीहरूको फ्रेन्चाइज टिममा गरिएको नियुक्तिले सुपर लिग विवादित बनेको छ ।

देशको उत्कृष्ट खेलाडीहरूलाई छनोट गरी राष्ट्रिय टिम हेर्नुपर्ने प्रशिक्षकले सुपर लिगको एउटा टिम हेर्दा स्वार्थ बाझिँदैन ?  बाझिँदैन भन्ने मलाई विश्वास छ,’ रेजर्सका शर्माले पत्रकार सम्मेलनमा जवाफ दिए, ‘बालगोपाल महर्जन फुटबलको एकदम राम्रो प्रशिक्षक हो । मैले टिम लिएपछि सुरुमै उनलाई छनोट गरेको हो । उनीबाट राष्ट्रिय टिम र यता (सुपर लिगको क्लब) हेर्दा स्वार्थ बाझिँदैन भन्ने विश्वास छ । कुनै पनि हालतमा त्यस्तो हुन दिन्नँ । सुपर लिगले नेपाली फुटबल नै विकास हुने हो ।’

बंगबन्धु गोल्डकप २०१६ मा नेपाली राष्ट्रिय टिमले उपाधि जित्दा पनि प्रशिक्षक रहेका महर्जनले भने, ‘म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक हो, त्रिदेशीय प्रतियोगिताको नेपाली टिम पनि मैले नै हेर्ने हो । त्रिदेशीय प्रतियोगिता सकिएपछि सुपर लिगको टिम हेर्ने हो । सुपर लिग सकेपछि विश्वकप छनोट खेल्ने राष्ट्रिय टिम मैले नै हेर्ने हो ।’ राष्ट्रिय टिमका पूर्वकप्तानसमेत रहेका उनले थपे, ‘नेपाली फुटबलमा पहिलोपल्ट हुन लागेको हो सुपरलिग । यो सबैका लागि मौका हो, मेरो लागि पनि । त्यसैले यसमा स्वार्थ बाझिने हुँदैन । त्रिदेशीय प्रतियोगिता सकेपछि सुपर लिगको टिम हेर्ने हो ।’ दोहोरो जिम्मेवारीमा रहँदा कुनै एक पदबाट राजीनामा नदिने पनि उनले दाबी गरे ।

‘निजी निर्णय’

राष्ट्रिय टिमका व्यवस्थापक उपाध्याय काठमाडौं रेजर्सको मार्की खेलाडी र प्रशिक्षक घोषणा कार्यक्रमका सञ्चालक थिए भने शुक्रबार भएको अक्सनमा टिमको टेबलमै बसेका थिए । टिममा तीनै जनाको संलग्नतालाई लिएर विवाद उब्जिएपछि यसबारे एन्फाका प्रवक्ता किरण राईले भने, ‘यो विषय उहाँहरूको निजी निर्णय हो ।’

एन्फाकै जिम्मेवार प्राविधिक समितिका एक पदाधिकारीले भने, ‘देशकै फुटबलको विकासको मेरुदण्डलाई बलियो बनाउन जिम्मेवारी लिएको व्यक्ति कुनै एउटा लिग खेल्ने क्लबमा जानु हुँदैन, यसले एन्फा र समग्र फुटबललाई नै विवादास्पद बनाउँछ । अर्को, हरेक क्लब र क्षेत्रका उत्कृष्ट खेलाडीहरू छनोट गरी राष्ट्रिय टिम बनाउने जिम्मेवारीमा रहँदारहँदै कुनै क्लब वा टिम हेर्न जानुले संस्था र फुटबललाई राम्रो गर्दैन । यस्तोमा जो व्यक्ति भए पनि उसले आफ्नै टिमका खेलाडीलाई च्याप्ने सम्भावना बढी हुन्छ, त्यसैले कुनै पनि व्यक्तिलाई स्वार्थ बाझिने गरी दोहोरो जिम्मेवारी दिनु हुँदैन ।’ उनले थपे, ‘हुन त यो नैतिकताको विषय पनि हो, जसबारे आफैंले निर्णय गर्न सक्छन् ।’

भ्रष्टाचारको अभियोगमा फिफाले प्रतिबन्धमा लगाएका पूर्वअध्यक्ष गणेश थापाको विरोधमा आन्दोलन गरेका कर्माछिरिङ शेर्पा २०७५ वैशाखमा एन्फा अध्यक्ष निर्वाचित भएका थिए । शेर्पाको चुनावी अभियानमा शर्मा र महर्जनले राम्रै साथ दिएका थिए, प्रचारमै हिँडेका थिए । शेर्पा अध्यक्ष चुनिएलगत्तै शर्मालाई लिग कमिटीको प्रमुखमा मनोनयन गरिएको थियो । उनले एन्फाको उक्त निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि पछि शेर्पालाई सहयोग गरेका थिए । चुनावलगत्तै एन्फा एकेडेमीको प्रशिक्षक बन्ने जिम्मेवारी पाएका महर्जनलाई योहान कालिनले छाडेपछि गत भदौमा राष्ट्रिय टोलीको प्रशिक्षक बनाइएको थियो । उनको नेतृत्वमा बंगलादेशविरुद्ध मंसिरमा ढाकामा भएको दुई मैत्रीपूर्ण खेलमा पनि प्रतिस्पर्धा गरेको थियो ।

एन्फाले आफ्नै उपाध्यक्ष उपेन्द्रमान सिंहलाई पनि सुपर लिग टिमका लागि प्रशिक्षकमा सिफारिस गरेको पाइएको छ । पाँच वर्षयता प्रशिक्षकका रूपमा काम नगरेका उनलाई समावेश गर्दै एन्फाले स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टलाई प्रशिक्षकमा नाम राख्दै सिफारिस गरेको थियो । त्यो १४ जनाको सूचीमा पछिल्लोपल्ट सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवाललाई भने राखिएको थिएन ।

‘ए डिभिजन लिग नै ठूलो’

छिमेकी देशमा आई लिगलाई पन्छाउँदै इन्डियन सुपर लिग (आईएसएल) लाई शीर्ष प्रतियोगिताका रूपमा मान्यता दिने विषयमा चर्को विवाद भइरहेको छ, जसको निर्णय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले समेत दिन सकेको छैन । आईएसएलकै चर्चापछि नेपालमा चौधरी ग्रुपको स्वामित्व रहेको स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले सुपर लिग सञ्चालन गर्न लागेको हो, जुन नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाको आफ्नै प्रतियोगिता पनि होइन । भलै, सुपर लिगलाई एन्फाले मान्यता दिएको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग नै औपचारिक रूपमा नेपाली फुटबलको सर्वोच्च प्रतियोगिता हो र नेपाल सुपर लिगको थालनीले ‘ए’ डिभिजन लिगलाई विस्थापन गर्ने हो कि भन्ने आशंका गरिएको छ । यसबारे एन्फाको लिग कमिटीका प्रमुखको कार्यभारमा समेत रहेका विज्ञानराज शर्माले भने, ‘सहिद स्मारक लिग नै ठूलो हो । त्यो लिग र यो लिग स्याउ र सुन्तलाजस्तो फरक–फरक कुरा हो । पहिलो गाँसमै ढुंगा नहालौं ।’

राष्ट्रिय टिमका पूर्वखेलाडीसमेत रहेका शर्माले यसपालि (२०७७ साल) ‘ए’ डिभिजन लिग आयोजना गर्न नसकेकोबारे भने, ‘लिग नै राम्रो बनाउन खोजेको हो । मैले खास राम्रो टिम भएपछि मात्रै टिम (सुपर लिग) लिन्छु भनेको हो ।’

प्रतिकृया दिनुहोस्