Wednesday, September 22

१९ करोड लागतमा गण्डकीले आफ्नै प्रहरी तालिम केन्द्र बनाउँदै

March 22, 2021 316

कास्की — गण्डकी प्रदेश सरकारले आफ्नै प्रहरी तालिम केन्द्र स्थापना गर्ने भएको छ । संघीयता कार्यान्वयनसँगै तालिम केन्द्रविहीन बनेपछि प्रदेश सरकारले केन्द्र स्थापनाका लागि प्रक्रिया थालेको हो ।

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोराले अहिलेसम्म प्रदेश सशस्त्र प्रहरी गणमा तालिम गर्नुपर्ने बाध्यता रहेको बताए । संघीयताअघि क्षेत्रीयस्तरको तालिम केन्द्र बुटवलमा थियो । साबिक पश्चिमाञ्चल क्षेत्रका प्रहरीले तालिम लिन बुटवल जानुपथ्र्यो । ‘बुटवलको तालिम केन्द्र लुम्बिनी प्रदेशमा समाहित भयो,’ बोहोराले भने, ‘त्यसपछि गण्डकी प्रदेश तालिम केन्द्रविहीन बन्यो । प्रहरीलाई कहाँ तालिम दिने ? न बस्ने ठाउँ छ न खाने ठेगान नै ।’
उनले पुरुष प्रहरीका लागि जसोतसो व्यवस्थापन गरे पनि महिला प्रहरीका लागि समस्या भएको बताए । गणमा नअटाउने प्रहरीलाई त्रिपालमुनि राखेर तालिम दिँदै आएको उनको भनाइ छ । संघीयतासँगै केन्द्रीय प्रहरी कार्यालयले सातवटै प्रदेशमा तालिम केन्द्र राख्ने अवधारणा लिएको थियो । सोअनुसार गण्डकीको प्रहरी तालिम केन्द्र पोखरा महानगरपालिका–१५ मा निर्माण गर्न लागिएको छ । प्रदेश प्रहरी तालिम केन्द्रका संघीय सरकारको लगानी छैन । बोहोराले इस्टिमेटअनुसार १९ करोड लागतमा तालिम केन्द्र बन्ने जानकारी दिए । तालिम केन्द्रका लागि गण्डकी सरकारले गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसबाट अहिले ५ वटा प्रिफयाब भवन र १० शौचालय निर्माण गरिएको छ ।

चालु वर्षमा फर्निचर खरिदका लागि २९ लाख, मर्मतका लागि ५ लाख, भाँडावर्तनका लागि ५ लाख र क्रमागत योजनाका लागि ५ करोड ७१ लाख रुपैयाँ विनियोजन भएको छ । क्रमागत योजनाअन्तर्गत महिला ब्यारेक, प्रशिक्षार्थी ब्यारेक, मूल गेट, बाधापार, मेस भवन, क्वाटर गार्ड, कार्यालय भवन, कार्यालय प्रमुख निवास रहेका छन् । ‘यो बजेटले पनि नपुग्ने भएपछि हामीले ४५ लाख रुपैयाँ थप मागेका छौं,’ उनले भने, ‘उक्त रकमबाट दुई सय जना अटाउने दुईवटा ब्यारेक भवन, रिजर्भ टयांकी र शौचालय निर्माण गरिनेछ ।’ तालिम केन्द्र नहुँदा हालै ७१ जनाले प्रहरी गणमा रहेर तालिम लिएका छन् भने १ सय ३७ जना तालिम केन्द्रमै छन् ।

प्रतिकृया दिनुहोस्