Wednesday, September 22

बलात्कृत अपांगलाई न्याय मुस्किल

March 27, 2021 1205

काठमाडौँ — छोरीलाई बुबासितै राख्ने र बेला–बेला आमासित भेट गराउने सहमतिमा पति–पत्नीले सम्बन्ध विच्छेद गरे । अलग्गै बसिरहेकी आमाले एक दिन जब ६ वर्षीया छोरीलाई भेटिन्, उनको योनिबाट रगत बगिरहेको चाल पाइन् । उनले फकाइफुल्याइ सोधिन् । बालिका जन्मजात कान सुन्न सक्दिनन् । बोल्न जान्दिनन् । उनले कापीमा चित्र लेखेर आफ्नै बुबाले बलात्कार गरेको खुलाइन् ।

छोरीलाई लिएर उजुरी दिन आमा प्रहरीकहाँ पुगिन् । प्रहरीले उजुरी लिन मानेन । अस्पतालको रिपोर्टका आधारमा बलात्कार भएको प्रमाणसहित अधिकारकर्मी र सरोकारवालाको निरन्तर दबाबमा बल्ल जाहेरी दर्ता गर्‍यो । प्रहरीले उनीहरूसँग बालिकालाई सांकेतिक भाषा सिकाउनुपर्ने सर्त राखे । मुद्दाबारे जानकार अधिवक्ता सविन श्रेष्ठका अनुसार प्रहरीले भनेको थियो, ‘बोल्न नसकेपछि त बयानै हुने भएन, सांकेतिक भाषा सिकाएर आफैंले बयान गरेपछि मात्रै मुद्दा लिइन्छ ।’ अहिले ती बालिकालाई सांकेतिक भाषा सिकाइँदै छ । अभियुक्तलाई थुनामा राखेर प्रहरीले अनुसन्धान गर्दै छ ।
दृष्टिसम्बन्धी अपांगता भएकी डडेलधुराकी एक किशोरीलाई गाउँका चिनेजानेकै चार बालकले बलात्कार गरेका थिए । तर गत माघ २३ मा बयान दिनुपर्नेमा पीडित पक्ष जानकारी नपुगेर उपस्थित नभएपछि अदालतले माघ २९ मा उपयुक्त प्रमाण नपुगेको कारणले किशोरीले लगाएको आरोप मिथ्या भएको भनी फैसला गरिदिएको छ । नेत्रहीन महिला संघ नेपालकी अध्यक्ष सीता सुवेदीका अनुसार कमजोर आर्थिक अवस्था भएका र अदालती प्रक्रियाबारे जानकार नभएका पीडितका बाबुसँग पीडक पक्षले क्षतिपूर्ति भराइदिने सहमति गरेको सूचना आएको थियो ।

शारीरिक र मानसिक अशक्तता भएकै कारण न्याय पाउन कठिन हुने गरेका यी प्रतिनिधिमूलक घटना मात्रै हुन् । नेपाल अपांग महिला संघकी महासचिव मीना पौडेलले प्राकृतिक भाषा नजानेर प्रहरी र अदालतमा बयान गर्न नसक्ने, चिनेको आफन्तले बोलेको कुरा नमान्ने, प्रमाण आफैं बोल्नुपर्छ भन्ने जटिल उल्झन र झमेला रहेको बताइन् ।

प्रतिकृया दिनुहोस्