Sunday, October 17

घातक धूवाँले दिउँसै अन्धकार

March 27, 2021 367

कचौरा आकारको उपत्यकामा स्थानीय प्रदूषण छँदै थियो । त्यसमा काठमाडौंसँग जोडिएका सबैजसो जिल्ला र लामटाङ निकुञ्जको डढेलोको धूवाँसमेत भित्रिएपछि एकाएक प्रदूषण बढेर दिउँसै अन्धकार भयो । भारतका विभिन्न ठाउँका डढेलोको प्रभाव पनि यसमा देखियो । सर्वसाधारणले आँखा पोलेको महसुस गरे ।
विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३०० भन्दा बढी हुनुलाई ‘घातक’ भनेको छ, उपत्यकामा शुक्रबार एक्यूआई ४७० सम्म रेकर्ड भयो
काठमाडौँ — बिहानसम्म लगभग सफा रहेको काठमाडौंको वायुमण्डल शुक्रबार मध्याह्नपछि एकाएक धुमलिन पुग्यो । क्षणभरमै तुवाँलोले भरियो । भिजिबिलिटी स्वाट्टै घटेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपराह्नपछि हवाई सेवा रोकियो । घरबाहिर निस्किएका सर्वसाधारणले आँखा पोलेको महसुस गरे ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३०० भन्दा बढी भएकामा ‘घातक’ भनेको छ । उपत्यकामा शुक्रबार एक्यूआई ४७० सम्म रेकर्ड हुन पुग्यो ।
काठमाडौंको चारै दिशातिर बिहीबारदेखि नै डढेलो लागिरहेको थियो । ‘बिहीबार डढेलो थप फैलिएपछि धूवाँ मिसिएको प्रदूषण काठमाडौंमा भित्रियो,’ लामो समयदेखि नेपालसहित दक्षिण एसियाली देशको स्थितिबारे विश्लेषण गर्दै आएका डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले कान्तिपुरसित भने, ‘काठमाडौंको प्रदूषणमा डढेलोको धूवाँ थपिएपछि झन् भयावह भयो, सर्वसाधारणले आँखा पोलेको महसुस गर्न थाले ।’

शर्माका अनुसार शुक्रबार बिहानैदेखि काठमाडौंसँग सीमा जोडिएका जिल्ला र तराई तथा भारतका विभिन्न स्थानमा डढेलो लागिरहेको थियो । ‘पश्चिम वायुसँगै डढेलोको धूवाँ काठमाडौं भित्रियो, जसले गर्दा दिउँसै अन्धकार भयो,’ उनले भने, ‘लामटाङ निकुञ्जमा लागेको डढेलोको धूवाँसमेत काठमाडौंसम्म फैलिएको देखियो । वायुले डढेलोको धूवाँ सोहोरेर ल्याएको हो ।’ लामटाङमा सन् २०१२ मा पनि ‘क्राउन फायर’ भएको थियो । त्यतिबेला पनि काठमाडौंसम्मै प्रदूषण फैलिएको शर्माले सम्झाए ।

अमेरिकी वैज्ञानिक संस्था ‘नासा’ ले शुक्रबार खिचेको तस्बिरले नेपालसँग सीमा जोडिएको भारततिर पनि भीषण डढेलो लागेको देखाएको छ । ‘नेपालतिर प्रदूषण बढ्नुमा भारतमा लागेको डढेलोको पनि ठूलो प्रभाव हुन सक्छ,’ उनले भने, ‘मुख्य गरी अहिलेको प्रदूषण डढेलोपछिको उग्ररूप हो ।’

पूर्वसचिवसमेत रहेका मौसमविज्ञ ऋषिराम शर्माले कचौरा आकारको उपत्यकामा स्थानीय प्रदूषणसँगै डढेलोको धूवाँसमेत मिसिएपछि वायु थप प्रदूषित बन्न पुगेको बताए । ‘वायु वेगले बगेको भए प्रदूषण घट्थ्यो,’ उनले भने, ‘हावा पनि चलेन, प्रदूषण मात्र भित्रिरह्यो, त्यसैले वायुमण्डलको तल्लो तहसम्मै प्रदूषण अत्यधिक फैलिन पुगेको छ ।’ केही दिनयता देशका विभिन्न भागमा डढेलोले उग्ररूप लिएपछि काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) पनि अत्यधिक बढेको छ ।

वातावरण विभागअन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले पनि काठमाडौंसहित देशका विभिन्न भागको वायु गुणस्तरले जोखिमको तह नाघेको देखाएको छ । केन्द्रका अनुसार ललितपुरको भैंसेपाटीमा शुक्रबार दिउँसो वायुको गुणस्तर सूचकांक ४७० (प्रतिघण्टाका हिसाबले) सम्म पुगेको थियो, त्यो दर साँझपख भने घट्दै गयो । भक्तपुरमा वायुको गुणस्तर सूचकांक दिउँसो ३०५ (प्रतिघण्टाका हिसाबले) सम्म पुगेको थियो, साँझपख २३० मा झरेको थियो । त्यस्तै, सिमरामा २४८ सम्म पुगेको वायुको गुणस्तर सूचकांक साँझ १८५ मा झरेको थियो । वायुको गुणस्तर सूचकांक (प्रतिघण्टाका हिसाबले) त्रिवि कीर्तिपुरमा २३१, दमकमा १९७, रत्नपार्कमा १८९, पोखरामा १६०, धनगढीमा १५९ र हेटौंडामा १५२ पुगेको थियो ।

सरकारले गत वर्ष स्वीकृत गरेको ‘काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजना’ मा एक्यूआई ३ सय नाघे विपद्को रूप लिने भनिएको छ । गत पुसमा पनि काठमाडौंमा वायुको गुणस्तरले खतराको तह पार गरेको थियो । त्यतिबेला विभागले बाहिर ननिस्कन सर्वसाधारणलाई सूचना जारी गरेको थियो ।

एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने पीएम १० र २.५ माइक्रोग्रामभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । विभागका सूचना अधिकारी तथा वातावरणविद् शंकर पौडेलका अनुसार एक्यूआई बढ्दै गएपछि जोखिम पनि बढ्छ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ । ‘लामो खडेरी र डढेलोका कारण यो वर्ष प्रदूषण बढ्न मद्दत पुगेको देखिन्छ,’ पौडेलले भने, ‘विगतदेखि नै हिउँदको समयमा यो समस्या छ, यो वर्ष अघिल्ला वर्षभन्दा डढेलो धेरै लागेकाले प्रदूषण थपिन पुगेको हो ।’

डब्लूएचओको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ । एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने उल्लेख गरेको छ । शुक्रबार एकाएक प्रदूषण बढेपछि स्वीट्जरल्यान्डमा मुख्यालय रहेको ‘आईक्यू एअर’ ले काठमाडौंलाई विश्वका ९४ प्रदूषित सहरमध्ये पहिलो नम्बरमा राखेको छ । गत पुसमा पनि पनि आईक्यू एअरले काठमाडौंलाई पहिलो नम्बरमा सूचीकृत गरेको थियो । आईक्यू एअरले चीनको राजधानी बेइजिङलाई दोस्रो, भारतको मुम्बईलाई तेस्रो र बंगलादेशको राजधानी ढाकालाई चौथो स्थानमा राखेको छ ।

डढेलोविज्ञ शर्माका अनुसार शुक्रबार काठमाडौंसँग जोडिएका सबै जिल्लासहित ५४ जिल्लाका ४३७ स्थानमा डढेलो लाग्यो । बिहीबार ४७९ स्थानमा डढेलो लागेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगका अनुसार अझै तीन, चार दिन काठमाडौंमा वर्षा हुने संकेत देखिन्न । ‘पश्चिमबाट पानी पार्ने प्रणाली भित्रिनुपर्ने हुन्छ,’ उनले भने, ‘सँगै स्थानीय वायु पनि सक्रिय हुनुपर्छ, त्यो सम्भावना तत्काल छैन ।’

डढेलो फैलिएसँगै काठमाडौं बाहिरका सहरमा पनि प्रदूषणको मात्रा बढेको छ । म्यान्मारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रमा हिउँदमा बर्सेनि डढेलोलगायत कृषि प्रणालीका लागि आगो बालिँदा र अन्य कारणले प्रदूषणको मात्रा उच्च हुने गरेको छ । त्यसलाई विशेषज्ञहरूले ‘एट्मोसफियरिक ब्राउन क्लाउड (एबीसी)’ भन्ने गरेका छन् । काठमाडौंमा प्रदूषणको मात्रा डब्लूएचओको मापदण्डभन्दा ५ गुणासम्म बढी छ । डब्लूएचओले वार्षिक औसत पीएम २.५ को मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ ।

एकै दिन ४७९ डढेलो : अहिलेसम्मकै सबैभन्दा धेरै
सरकारले तोकेको मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । तर काठमाडौंमा ३ सय ५० माइक्रोग्राम प्रतिघनमिटरसम्म पीएम १० र पीएम २.५ को मात्रा पुग्ने गरेको छ । सरकारले पीएम १० को मात्रा १ सय २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ भने २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर मापदण्ड निर्धारण गरेको छ । केन्द्रका अनुसार शुक्रबार भैंसेपाटीमा पीएम १० को मात्रा ३८० माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ । २.५ को हानिकारक कणको २१६ माइक्रोग्राम पुगेको छ । माइक्रोग्रामभन्दा मसिना कणलाई पीएम २.५ भनिन्छ ।

‘स्टेट अफ ग्लोबल एयर–२०२०’ का अनुसार नेपालमा प्रदूषणले निम्त्याउने रोगका कारण बर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ । डब्लूएचओका अनुसार सन् २०१८ मा नेपालमा प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो । प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग (सीओपीडी), दम, निमोनिया, मस्तिष्कघात (स्ट्रोक), कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ ।

प्रदूषणकै कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ । जानकारहरूका अनुसार साना कण श्वास नलीमार्फत फोक्सोसम्म पुग्छन् । मसिना कण हावामा लामो समयसम्म बस्छन् र ती शरीरभित्र पस्ने सम्भावना बढी हुन्छ । ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यकामा यातायातका साधन वायु प्रदूषणका मुख्य स्रोत हुन् । उपत्यकामा साना–ठूला गरी १२ लाख सवारीसाधन गुड्छन् । सडकको धूलोसमेत अर्को स्रोत हो । फोहोर र कृषिजन्य अवशेष बाल्दाको धूवाँ, इँटाभट्टा, घरभित्र दाउरा र गुइँठाबाट निस्किने धूवाँ पनि वायु प्रदूषणका स्रोत हुन् ।

सवा घण्टा विमानस्थल बन्द

धूवाँ मिसिएको तुवाँलोका कारण शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १ घण्टा १५ मिनेट बन्द भयो । विमान उड्नका लागि आवश्यक भिजिबिलिटी ५ हजार मिटरबाट घट्दै एक हजार मिटरमा पुगेपछि दिउँसो २ बजेर ५५ मिनेटदेखि ४ बजेर १० मिनेटसम्म बन्द गरिएको थियो । त्यसबेला आन्तरिक उडानमा रहेका ८ वटा जहाज अवतरण हुन नसकेर डाइभर्ट भएका थिए ।

पोखराबाट उडेको यतीको जहाज जनकपुर र विराटनगरबाट उडेको विराटनगरै फर्केको थियो । बुद्ध एयरको पोखरा, जनकपुर र राजविराजबाट उडेका तीन जहाज जनकपुर डाइभर्ट भएका थिए । बुद्धकै नेपालगन्जबाट काठमाडौं आउँदै गरेको विमान भैरहवा गएको थियो । चन्द्रगढीबाट काठमाडौंका लागि उडेको सौर्यको सीआरजे विमान चन्द्रगढी नै फर्केको थियो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार, अन्तर्राष्ट्रिय उडानतर्फ हङकङबाट आएको क्याथे प्यासिफिकको कार्गो बोकेको वाइडबडी विमान एक घण्टासम्म सिमरामाथिको आकाशमा होल्डमा परेको थियो ।

काठमाडौंको आकाश सफा नभएपछि क्याथेको विमान दिल्ली हुँदै हङकङ नै डाइभर्ट भएको थियो । काठमाडौंस्थित क्याथेको कार्यालयले उक्त विमान शनिबार मात्रै फर्किने जनाएको छ । त्यसैगरी मध्यपूर्वबाट आएको फ्लाई दुबईको विमान पनि दिल्लीतर्फ डाइभर्ट भएको महाप्रबन्धक तिवारीले बताए । विमानस्थल बन्द हुँदा बेलुकी ७ बजेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय गरी कम्तीमा एक दर्जन उडान डाइभर्ट भए । समयमै विमानस्थल पुगेका यात्रुले २ घण्टासम्म कुर्नुपरेको थियो ।

प्रतिकृया दिनुहोस्