Saturday, October 16

ठेला तान्ने बानी पर्‍यो, दुई/तीन दिनसम्म चलाइन भने बरु ज्वरो आउलाजस्तो हुन्छ ।’

March 27, 2021 351

ठेला तान्ने बानी पर्‍यो, दुई/तीन दिनसम्म चलाइन भने बरु ज्वरो आउलाजस्तो हुन्छ ।’
विराटनगर — दिनभर ठेलागाडाको मजदुरीपछि राति त्यसमै सुत्छन् । लुगा धोएर ठेलागाडामै सुकाउँछन् । मनकारी स्थानीय व्यवसायीले शौचालय र धारा प्रयोग गर्न दिएका छन् । बढी भएको खाजा/खाना फाल्नुभन्दा होटलवालाले बोलाएर खुवाउँछन् । विराटनगरमा दिनहुँ ठेलागाडा गुडाउने ६७ वर्षीय नन्दलाल कामतको पछिल्लो चार वर्षदेखि दैनिकी यसैगरी बितिरहेको छ ।

सहर आउने हरेक श्रमजीवीले कामसँगै खान, बस्नका लागि आम्दानी अनुकूलको कोठा खोज्छन् । तर उनको यहाँ न घर छ, न त कोठा । ठेलागाडा नै उनको ठेगाना हो । हस्पिटलचोकस्थित मुख्य बाटोछेउमा उनी राति ठेला राखेर सुत्छन् । ‘फुटपाथमा हिँड्नेलाई समस्या नहुने गरी राख्छु, रातभर गुड्ने प्रहरी भ्यानले पनि रोकटोक गर्दैन,’ उनी भन्छन् । काम परेका बेला सम्पर्क गर्न सहज होस् भनेर स्थानीय युवा तरकारी व्यवसायी राजकुमार यादवले उनलाई सिमसहितको मोबाइल दिएका छन् । तर आएको फोन उठाउन जाने पनि आफैं गर्न भने सक्दैनन् । गर्नैपर्ने पसले या बटुवाको सहयोग लिन्छन् । बजारभर चिनिएका उनको मोबाइलमा अधिकांश व्यापारीको नम्बर भने सुरक्षित छ ।
श्रमिक एवं किसान पृष्ठभूमिका नन्दलालले ठेला चलाउन थालेको दुई वर्ष मात्र भएको छ । यसअघि दुई वर्षसम्म उनले पाइडल रिक्सा चलाए । आफू अहिलेसम्म बिरामी नपरेको उनको दाबी छ । भन्छन्, ‘ठेला तान्ने बानी पर्‍यो, दुई/तीन दिनसम्म चलाइन भने बरु ज्वरो आउलाजस्तो हुन्छ ।’ यो उमेरमा पनि दिनहुँ मोरङ र सुनसरीको पनि कुनाकुनासम्म ठेला गुडाइरहेको उनी सुनाउँछन् । सालाखाला दिनमा ६ सय रुपैयाँ कमाउँछन् । ढुवानीका अनेक साधन थपिएकाले पहिलेजस्तो कमाइ भने हुन छाडेको उनले सुनाए । कुनै बेला एकैदिन ३३ सय रुपैयाँसम्म कमाएको उनी सम्झिन्छन् । ‘नयाँ–नयाँ खाले गाडी आए, ती दिन त गए,’ उनले भने ।

प्रतिकृया दिनुहोस्