Wednesday, October 27

थ्री नेसन्स कप : ‘स्वच्छ खेलको आस’

March 27, 2021 436

नेपालले फाइनल प्रवेशका लागि शनिबार निर्णायक खेलमा बंगलादेशविरूद्ध खेल्दै । जित वा बराबरीले नेपाल फाइनल पुग्ने । एक गोलले हार्‍यो भने पनि नेपाललाई थोरै कार्डमा फाइनल पुग्ने मौका ।
काठमाडौँ — अन्तिम २९ मिनेट दस खेलाडीमा समेटिएको किर्गिस्तान यू–२३ लाई पराजित गर्न नसकेको नेपाली राष्ट्रिय फुटबल टिम समूह चरणको अन्तिम खेलमा शनिबार बंगलादेशको सामना गर्दा थ्री नेसन्स कप फुटबलको फाइनल पुग्नैपर्ने दबाबमा छ ।

दशरथ रंगशालामा ६ वर्षपछि फर्किएको नेपाली टोली किर्गिज युवा टिमविरुद्ध गोलरहित रोकिएको थियो । त्यसैले बंगलादेश एक खेल बाँकी छँदै फाइनलमा पुग्यो । ‘अन्तर्राष्ट्रिय मैत्रीपूर्ण’ खेलको मान्यता पाउने नेपाल–बंगलादेशको प्रतिस्पर्धा विशेषगरी घरेलु टिमका लागि प्रतिष्ठाको विषय बनेको छ । किनभने बंगलादेशका प्रशिक्षक जेम्स डेले पहिला नै फाइनल पुगेमा नेपालविरुद्धको खेललाई नयाँ खेलाडीको परीक्षणका रूपमा लिइने बताइसकेका छन् । नेपाललाई भने अनुकूल नतिजा निकाल्दै फाइनल पुग्नैपर्ने दबाब छ ।
बंगलादेशले पहिलो खेलमा किर्गिस्तानी टिमलाई १–० ले हराएको थियो । त्यसैले नेपालसँगको बराबरीले मध्य एसियाली टिम फाइनल पुग्ने आशामा समूह चरणको अन्तिम खेलको प्रतीक्षा गरिरहेको छ । नेपालका निम्ति फाइनलमा स्थान सुरक्षित गर्न बंगलादेशविरुद्ध जित वा बराबरी नतिजा पर्याप्त हुनेछ । एक गोल अन्तरले पराजित भएको अवस्थामा पनि कार्डको संख्या किर्गिस्तानी टिमको भन्दा कम भयो भने नेपालले उपाधि होडमा बंगलादेशविरुद्ध सोमबार खेल्न पाउने छ । किर्गिस्तानले दुई खेलमा ५ पहेँलो कार्ड (एक रातोसहित) पाएको थियो भने नेपाली खेलाडीलाई रेफ्रीले कार्ड देखाएका छैनन् ।

नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरुद्ध खेलको योजनाबारे भने, ‘सर्वप्रथम आफ्नो खेलमै ध्यान दिनुपर्‍यो । आफ्नो नियमित खेललाई निरन्तरता दिने हो । हार–जित आफ्नो ठाउँमा छ । राम्रो प्रदर्शन गरेर जित वा बराबरी गर्दै अंक हात पार्ने हो । कसरी हुन्छ अंक जोडेर फाइनल पुग्ने लक्ष्य छ । कसरी हुन्छ अग्रता नलिए पनि राम्रो प्रदर्शन गर्ने र टोटल फुटबल खेल्ने हो ।’

उनले तीन नयाँ खेलाडीलाई प्रयोग गरे पनि नेपालले पाहुना टिमको पोस्टमा एउटा पनि गतिलो प्रहार गर्न सकेको थिएन । घरेलु टिमको प्रदर्शन फरवार्डबिनाको खेलजस्तै देखिएको थियो । किर्गिस्तानले पनि बंगलादेशविद्ध हारेको टिमको पहिलो रोजाइमा ६ खेलाडी परिवर्तन गर्दै नेपालविरुद्ध प्रतिस्पर्धा गरेको थियो । नेपाली टिमले खेलमा अधिकांश समय बल नियन्त्रणमा राख्यो तर चाहिएको गोल भने गर्न सकेन ।

पत्रकार सम्मेलनमा आक्रोशित देखिएका प्रशिक्षक महर्जनले ‘नतिजामात्रै होइन, प्रदर्शन पनि हेर्नुपर्ने’ भन्दै आफ्नो टिमको बचाउ गरेका थिए । तर, खेल जित्न गोल नै चाहिन्छ । नेपाली टिमको परम्परागत समस्या पनि आफ्नै क्षेत्र वा सजिलो हुने स्थानमा बल खेलिरहने तर अट्याकिङ थर्डमा खेल्न नसक्ने र गोल गर्न नसक्नु नै हो । ठ्याक्कै त्यही समस्या २३ वर्षमुनिको टिमविरुद्ध देखिएको थियो, जसलाई बंगलादेशको सिनियर टिमसँग खेल्दा सुधार गर्ने अपेक्षा गरिएको छ ।

पहिलो खेलमा अग्रपंक्तिमा चारै फरवार्डमा देखिएको कमजोरीबारे प्रशिक्षक महर्जनले भने, ‘एकदमै उथलपुथल गर्ने होइन, अलिकति काउन्सिलङ गर्ने, रिमाइन्ड गराउने, गल्ती कोट्याउनेभन्दा नदोहोर्‍याउने प्रयास गराउने छु ।’ उनले सम्हालेको नेपाली टिमले गत नोभेम्बरमा बंगलादेशविरुद्ध ढाकामा मैत्रीपूर्ण दुई खेल खेलेको थियो । पहिलो खेल २–० ले हारेको नेपालले दोस्रो खेल गोलरहित टुंग्याएको थियो । कोरोना भाइरसको महामारीयता नेपालले अन्तर्राष्ट्रिय फुटबलमा त्यही ढाका यात्राबाट पुनरागमन गरेको थियो ।

दुवै टिममा पछिल्लो ढाका भेटका अधिकांश खेलाडी छन् । थुप्रै नयाँ अनुहार पनि । यस प्रतियोगितामा दुवै टिमको लक्ष्य पनि एउटै छ, विश्वकप २०२२ छनोटका लागि टिमको तयारी बलियो बनाउने ।

किर्गिज टिमविरुद्ध तीन नयाँ खेलाडीलाई अवसर दिएका बंगलादेशका प्रशिक्षक डेले प्रतियोगिताअघि नै भनेका थिए, ‘विश्वकप छनोट (जुन महिना) को तयारीका रूपमा यो प्रतियोगितालाई लिएका छौं । नेपालविरुद्धको खेलअघि नै फाइनल पुगेमा हामी विश्वकप छनोटको लागि नयाँ खेलाडी योग्य छन्/छैनन् भन्ने हेर्नेछौं ।’ त्यसैले यी बेलायती प्रशिक्षकले राष्ट्रिय टिमबीचको खेलमा खेलाडीको परीक्षण गर्न सक्छन् । तर, उनले अघिल्लो खेलमा दोस्रो हाफमा खेलाएका आई लिग क्लब मोहम्मडन स्पोर्टिङका डिफेन्सिभ मिडफिल्ड जमल भुइयानलाई पहिलो रोजाइमै उतार्ने अपेक्षा गरिएको छ ।

विपक्षी टिमबारे नेपाली प्रशिक्षक महर्जनले भने, ‘विगतको तुलनामा खेलाडीको प्रोफाइल हेर्दा, लिग चरणको जितको कन्फिडेन्स, टिम सेटअप राम्रै छ । अट्याकिङ, मिडफिल्ड, डिफेन्ससहित टिम राम्रै हो । घरेलु मैदान भएकाले हामीलाई अलिकति फाइदा छ । त्योभन्दा पनि दुवैलाई बराबरी अवसर हो । घरेलु मैदान भएकाले किर्गिज टिमविरुद्धको खेललाई निरन्तरता दियो भने खेल आफ्नो नियन्त्रणमा राख्न सकिन्छ ।’

फाइनल पुग्ने दोस्रो टिमको छिनोफानो गर्ने खेल भएकाले नेपालविरुद्ध बंगलादेशको प्रतिस्पर्धामा किर्गिस्तान यू–२३ टिमका प्रशिक्षक जोल्दोसोभ नुर्बेकले पनि नजर लगाएका छन् । नेपालसँग बराबरी खेलेपछि उनले सचेत गराउँदै भनेका थिए, ‘नेपाल र बंगलादेशविरुद्धको खेल प्र्रतिस्पर्धात्मक र स्वच्छ हुने आस गरेको छु ।’

साफ च्याम्पियनसिप २०१३ यता नेपाल र बंगलादेशको राष्ट्रिय टिम दशरथ रंगशालामा प्रतिस्पर्धा गर्न लागेको हो । अनिल गुरुङ र भरत खवासको गोलमा ८ वर्षअघिको भेटमा नेपालले २–० को जित निकालेको थियो । त्यो टिममा ठूलै परिवर्तन भए पनि भरत नेपाली टोलीको अग्रपंक्तिमा निरन्तर छन् । त्यो साफयता नेपालले बंगालदेशविरुद्ध पाँच खेल खेल्यो र ती सबै खेल ढाकामा भएको थियो ।

नेपालले बंगलादेशविरुद्ध पछिल्लो जित तीन वर्षअघि ढाकामा भएको साफ च्याम्पियनसिपमा हात पारेको थियो । त्यो २–० को जितमा विमल घर्तीमगर र नवयुग श्रेष्ठले गोल गरेका थिए । यी दुवै फरवार्ड प्रशिक्षक महर्जनको यो टिममा छैनन् ।

प्रतिकृया दिनुहोस्