Monday, June 14

परीक्षामा अनुत्तीर्णलाई प्रिन्सिपलबाटै कुटपिट

March 27, 2021 160

काठमाडौँ — परीक्षामा अनुत्तीर्ण भएको भन्दै गोकर्णेश्वर नगरपालिकाको नयाँबस्तीस्थित बुद्ध एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल र होस्टल इन्चार्जले विद्यार्थी कुटेका छन् । कुटाइबाट एक विद्यार्थी घाइते भएका छन् ।

कक्षा ९ मा पढ्ने १७ वर्षीय हीरा केसीलाई प्रिन्सिपल निर्मलबहादुर तामाङ र होस्टल इन्चार्ज सुनीलकुमार योञ्जनले रड, पाइपलगायतले कुटपिट गरेका उनका छिमेकका दाइ मिलन बुढाथोकीले दाबी गरे । कुटाइबाट केसीको अनुहार, घाँटीमा चोट लाग्नुका साथै शरीरका विभिन्न भागमा नीलडाम छन् । उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।
विद्यालय प्रशासनले शुक्रबार बिहान १० बजे परीक्षाको नतिजा प्रकाशन गर्‍यो । अनुत्तीर्ण विद्यार्थीलाई तामाङ र योञ्जनले पाइपले पिट्न थालेपछि हीराले नपिट्न आग्रह गरेका थिए । ‘सर बच्चालाई किन पिट्नु भएको, यसरी नपिट्नुस् भन्दाखेरि उसैमाथि कुटेछन्, रडले पिटेको डाम शरीरभरि छ,’ मिलनले कान्तिपुरसँग भने । हीरालाई कुटपिट गर्नेमाथि कारबाही गरी उपचार खर्चसमेत दिलाइपाऊँ भनी महानगरीय प्रहरी वृत्त बौद्धमा उनले जाहेरी दिएका छन् ।

प्रिन्सिपल तामाङले भने होस्टल इन्चार्जले कुटपिट गरेको भन्दै आफ्नो बचाउ गर्न खोजेका छन् । ‘मैले होइन, होस्टल इन्चार्जले कुटेको हो, फेल भएको भनेर इन्चार्जलाई कुट्न ८/१० जना विद्यार्थी आएछन्, प्रतिकार गरेका हुन्,’ उनले भने, ‘मैले छोएकै छैन, सबै विद्यार्थी, प्रत्यक्षदर्शी र स्वयं कुटाइ खाने विद्यार्थीलाई सोध्नुस्, उसैले होइन भन्छ ।’

प्रतिकृया दिनुहोस्