Monday, August 15

बौद्धनाथ क्षेत्रमा टिकटक खिच्न निषेध

March 24, 2021 308

काठमाडाैं, ११ चैत । विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ क्षेत्रमा सामाजिक सञ्जाल टिकटक भिडियो खिच्न निषेध गरिएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले सोमबारदेखि टिकटक भिडियो खिच्न निषेध गरेको हो ।

भिडियो बनाउन आउने टिकटक प्रयोगकर्ताका कारण बौद्धनाथ क्षेत्र भ्रमण गर्न आइपुगेका आगन्तुकलाई अवरोध पुगेको गुनासो आएपछि सूचना बोर्डसमेत राखिएको जानकारी समितिका कार्यकारी निर्देशक वसन्त लामाले गराएका थिए ।

‘धार्मिक र शान्तिको प्रतीकका रूपमा स्थापित बौद्धनाथ क्षेत्रमा टिकटक भिडियो बनाउने क्रममा होहल्ला भएको गुनासो आएको छ,’ उनले भने, ‘टिकटक भिडियो बनाउँदा मोबाइलबाट चर्को स्वरमा गीत–संगीत बजाउँदा आगन्तुकहरूलाई समस्या भएकाले सूचना बोर्डमार्फत चेतावनी दिन बाध्य भएका हौं । टिकटक प्रयोगकर्ताले भिडियो खिच्ने लोभमा धर्मावलम्बी र आगन्तुकलाई अवरोध पुर्‍याउनु गलत भएकाले यसलाई निरुत्साहित पार्न निषेध गरेका हौं ।’ यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्