Friday, June 18

वायु प्रदूषणले ३ दिनयता १३८ उडान रद्द 364

March 30, 2021 100

काठमाडौँ — वायु प्रदूषणका कारण तीन दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने १ सय ३८ वटा उडान रद्द भएका छन् । विमानस्थलस्थित आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडालका अनुसार सोमबार काठमाडौंबाट हुनुपर्ने ३९ वटा उडान मौसम सफा नभएकाले रद्द भए ।

यसअघि शनिबार ५७ र आइतबार ४२ वटा आन्तरिक उडान रद्द भएका थिए । ‘तीन दिनयता आन्तरिक उडान प्रभावित छ,’ उनले भने, ‘सोमबार पोखरा, भरतपुर र तुम्लिङटारको मौसम सफा नभएकाले सबै उडान रद्द भए ।’
बुद्ध एयरले सोमबारका लागि काठमाडौंबाट ४८ वटा उडानको तालिका तय गरेको थियो तर १६ वटा उडान रद्द गरेको जनाएको छ । आन्तरिक टर्मिनलबाट दैनिक सय हाराहारी उडान हुने गर्छन् । मौसम नखुलेकाले रात्रि उडान सुविधा भएका भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, नेपालगन्ज र धनगढीका लागि राति ११ बजेसम्म वायुसेवाले काठमाडौंबाट उडान गर्दै आएका छन् ।

धूवाँ र प्रदूषणलगायत कारण आकाश धमिलो भएपछि तराईका विमानस्थलमा जहाजलाई कम्तीमा २२ सय मिटर दृश्यता (भिजिबिलिटी) आवश्यक पर्छ । योभन्दा कम भए उडान हुन सक्दैन । काठमाडौंमा भने १६ सय मिटर भिजिबिलिटी भए पुग्छ । अन्तर्राष्ट्रिय उडान गर्ने अधिकांश वायुसेवाका विमान रिक्वायर्ड नेभिगेसन परफर्ममेन्स (आरएनपी) प्रणालीको माध्यमले अवतरण गर्न सक्छन् । यसका लागि ११ सय मिटर भिजिबिलिटी चाहिन्छ । विमानस्थलले सोमबार अन्तर्राष्ट्रिय उडान डाइभर्ट नभएको जनाउँदै शनिबार सिमरा पुगेर मौसमका कारण दिल्ली हुँदै हङकङ नै फर्केको क्याथे ड्र्यागनको कार्गो उडान भने अझै आइनसकेको जनाएको छ । आन्तरिक टर्मिनलका अनुसार तीन दिनयता हेलिकप्टरका पनि चार्टर उडान हुन सकेका छैनन् ।

प्रतिकृया दिनुहोस्