Tuesday, November 30

काठमाडौ रेड जोनमा ? विज्ञहरु चिन्तित

August 11, 2021 282

काठमाडौं । उपत्यकाका तीन जिल्ला महामारीको उच्च जोखिममा रहेको भन्दै विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् । तीन उपत्यका रेड जोनमा रहेकाले उच्च सतर्कता अपनाउनुपर्ने बताइएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाए पछि उपत्यकामा अर्को लहर आएको हो की भन्ने आम समुदायमा पनि आशंका छन् । यसै विषयमा केन्द्रित रहेर न्यूज एजेन्सी नेपालले काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीसँग कुराकानी गरेको छ।

मंगलवार काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूले के के निर्णय गर्नु भयो ?

हामीले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा अहिलेसम्म जारी नै छ। हामीले निरन्तर्ता नै दिएका छौँ। फेरि भदौ ८ गतेसम्म केही क्षेत्रहरूलाई हामीले सीमित गरेका छौँ। हामीले अहिले दुई÷तीन वटा कुरामा जोड दिएका छौँ। एउटा पूर्ण रूपमा निषेध गरिएका विषयहरू छन्। त्यसमा सबै प्रकारका सभा सम्मेलन, खुल्ला स्थानमा भेला हुने, जम्मा हुने, भिडभाड गर्नु नहुने, केही क्षेत्रहरू खोल्न नपाइने छन्।

अर्को भनेको स्वास्थ्यका मापदण्ड पालना गरेर कार्य सञ्चालन गर्ने भनेर छोडेका विषयहरू पनि छन्। र अहिले हामीले निषेधाज्ञा जारी गरेको साढे तीन महिना पुग्यो। बिचको २ महिनादेखि हामीले केही क्षेत्रहरू खुलाएको अवस्था छ। तर पछिल्लो चरणमा हिजो÷अस्तिको डाटा हेर्ने हो भने कोरोनाको संक्रमण दर ह्वात्तै बढ्दै गइरहेको छ।

संक्रमण दर बढेको छ, निको हुने दर घटेको छ। मृत्युदर पनि बढ्न थालेको अवस्था छ। अस्पतालमा बिरामीहरूको चाप अहिले बढेको देख्न सकिन्छ। त्यो कारणले अब यसलाई फरक दृष्टिकोणले हेर्नुपर्छ। एकै पटक पूर्ण निषेधाज्ञा जारी गर्नुभन्दा पनि पहिला हामीले पूर्वमा केही गर्नुपर्छ भनेर अनुगमनको रूपमा केही निर्णयहरू गरेका हौँ।

हिजो म आफैँ पनि अनुगमनमा निस्किएँ । सार्वजनिक यातायातको क्षेत्रमा मास्क लगाएको छ कि छैन, मल पसलहरूमा पनि भिडभाड कत्तिको छ रु मास्कहरू के छ, भनेर हामी निस्किएका थियौँ। मास्क अधिकांशले लगाएको नै देख्यौँ। नलगाएकालाई हामीले बढ्यौँ पनि। अब जरिबाना पनि सुरुवात गरेका छौँ। संक्रमण दर पनि नबढोस् र दैनिक जीवनका कुराहरू पनि चालु हुन् भन्ने नै हाम्रो अहिलेको नीति हो। त्यो अनुसार हामी यो बिचमा बसेर काम गरिरहेका छौँ। अधिकांश साबिक बमोजिमकै निर्णयहरू छन् ।

अनि बेलुका ८ बजे पछि सबै बन्द भनेको के हो ? कस्तो बन्द हो ?

हिजो हामीले थप एउटा गरेको छौँ, रात्रिकालीन व्यवसायको कारणले होटल, रेस्टुरेन्ट, टेकवे मात्रै दिने भन्यौँ, हाम्रोमा गुनासोहरू आए। मानिसहरू बाहिरै बसेर खाइरहेका छन्। रेष्टुरेण्टहरु चालु भइरहेको छ, होटेलका मानिसहरूले पनि स्वास्थ्य प्रोटोकलहरू पालना गरेको देखिँदैन भन्ने गुनासो आएपछि हामीले भिडभाडजन्य गतिविधिहरू रोक्नलाई नै यो मास्क खोलेर हुने गतिविधि छ, बेलुकाको खानपिनको कार्यक्रम त्यसमा अलिकति निरुत्साहित गर्न सकियोस् भनेर हामीले सबैले आ–आफ्नो गन्तव्यमा ८ बजेभित्र पुगिसक्नु पर्ने सोचमा एउटा निर्णय थप गरेका हौँ।

त्यसमा अत्यावश्यक सेवाका गाडीहरू चल्न पाउँछन्। गिटी, बालुवा, निर्माणजन्य सामग्रीहरूको ढुवानी गर्न राती दिइएको छ। बाहिरबाट उपत्यका प्रवेश गर्ने गाडीहरू पनि चल्न पाएछन्। जस्तै जामको कारणले, कारणवश थानकोटदेखि तल रोकिनुपर्ने स्थिति नआओस् भनेर उपत्यका आउने÷जानेलाई पनि सहजीकरण गरिदिनु भनेका छौँ। सबै निजी र सार्वजनिक सवारीसाधनहरू ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने भनेको मतलब रात्रिकालीन व्यवसायमा, माहौलमा भिडभाड नहोस् भन्ने मुख्य उद्देश्य हो। यसमा पनि हिजो हामीले आदेश जारी गर्‍यौँ।

अब केही सुझाव हामीलाई प्राप्त भएको छ। राती कोरोना सर्ने दिउँसो नसर्ने, दिउँसो भिडभाडमा कोरोना नलाग्ने, राती लाग्ने भन्ने प्रश्न पनि आएको छ। हाम्रो मुख्य उद्देश्य सवारी साधन रोक्ने होइन, तर यो भिडभाड जन्य गतिविधि मोटरसाइकल पार्किङ, गाडीहरू पार्किङ गरेर रेस्टुरेन्ट तिर खाने प्रवृत्ति धेरै देखियो, मास्कहरू नलगाउने प्रवृत्ति देखियो त्यसैले हामीले अनुगमन पनि गरिराखेका छौँ। त्यसलाई कडाइ गर्ने मुख्य उद्देश्य हो।

अरू साबिक बमोजिम नै छ। तर अब अलिकति काठमाडौंमा रेड जोनमै हामी पुगिसकेका छौँ भन्ने स्वास्थ्य विज्ञहरूको रिपोर्ट आइराखेको छ। यो जारी गरेको आदेश जुनसुकै बखत पनि पुनरावलोकन हुनसक्छ। हामी दिन प्रतिदिन डाक्टरहरूसँग स्वास्थ्य मन्त्रालयहरूसँग समन्वयमा छौँ, हाम्रो मुख्य उद्देश्य भयावह नहोस् भन्ने नै हो। अक्सिजन अहिले हाम्रो ब्यालेन्समा छ। अक्सिजन नपुगेर कोही व्यक्तिहरूको पिक टाइममा मृत्यु भयो तर त्यसमा अहिले सुधार आएको छ। बेडमा अलिकति चाप भएकोले बेड थप गरेको हो।

अनुगमन गर्दागर्दै पनि सेवाग्राहीहरूले स्वास्थ्यका मापदण्ड पालना गरिरहेको देखिँदैन यसमा के भन्नुहुन्छ ?

हरेक ठाउँमा हरेक निकायको जिम्मेवारी हुन्छ। यहाँ पनि सेवाग्राही आउनुभएको छ, म बेलाबेलामा गएर आफैँ हेरिरहेको हुन्छु। मास्क नलगाएकोलाई मास्क लगाउनुस् भनिरहेका छौँ, भिडभाड गर्नेलाई अलिकति दूरी कायम गरेर बस्नुस् भनिरहेका छौँ, यो सबैले पालना गर्नुपर्ने हुन्छ। सेवा प्रदायक संस्थाहरुले पनि आफ्नो कार्यालयको व्यवस्थापनमा ध्यान दिनुपर्यो। नागरिकहरुले पनि आफू कसरी सुरक्षित हुने भनेर ध्यान दिनुपर्यो।

मास्क कसरी लगाउने, भरसक सम्भव भएसम्म भिडभाड जन्य गतिविधि नगर्ने, सेवा लिनुपर्दा पनि दूरी कायम गरेर बस्नुपर्ने हुन्छ। गर्न सक्दा टोकन सिस्टम लागू गरिदिने हो भने हरेक कार्यालयले टोकन दिने त्यसपछि उसको पालो तोकिन्छ र पालोमा आउने सिस्टम भए राम्रो हुन्छ। विद्युत प्राधिकरण, दूरसञ्चार, खानेपानी तिर यो सम्भव हुन्छ, तर हाम्रो यो नागरिकता वितरणको कार्य छ, त्यसमा एउटा व्यक्ति पटक–पटक सम्पर्कमा हुनुपर्छ।

सनाखत गराउनुपर्यो, कार्डमा ल्याप्चे गर्नुपर्यो, त्यसमा समस्या हुन्छ। मैले यहाँ पनि टोकन सिस्टम लागू पनि गरेँ। तर व्यवहारिक रूपमा त्यति कार्यान्वयन गर्न सकिएन। त्यो भएको हुनाले भिडभाड जन्य गतिविधि रोक्नको निम्ति सेवा प्रदायक संस्थाले पनि ध्यान दिनुपर्यो र नागरिकहरुले पनि त्यत्तिकै ध्यान दिनुपर्यो। अब अनुगमनमा हामी निस्केका पनि छौँ, स्थायी संयन्त्र पनि मैले बनाइदिएको छु, हाम्रो सहायक सिडिओ साबहरुलाई आजदेखि नै दिनमा तीन पटक अनुगमन गर्ने भनेको छु।

एक पटक बिहानीपख, मध्यान्ह पख र बेलुकाको गतिविधिहरूका अनुगमन र रिपोर्टिङ गरेर त्यहाँ जरिबाना गर्ने अधिकार पनि प्रत्यायोजन गरेको छु। हामीले गरिरहेका छौँ, तर आम नागरिकहरू र सबै क्षेत्रबाट सरोकारवाला संस्थाहरूको सहभागिता बिना यो सम्भव छैन। प्रहरीको गाडी जाँदा बन्द गर्ने, प्रहरी जाँदा रेष्टुरेण्टबाट उठेर हिँड्ने र फेरि प्रहरी गएपछि खोल्ने त्यो प्रवृत्तिले यो नियन्त्रण हुँदैन।

प्रहरीको संलग्नता कति क्षेत्रमा गराउने हेर्नुहोस् त अहिले खोप व्यवस्थापनमा प्रहरी, परीक्षाको सुरक्षामा प्रहरी, जुलुस व्यवस्थापन प्रहरी, हरेक ठाउँमा सीमित प्रहरी हुन्छ। काठमाडौंमा ३०÷४० लाख जनसङ्ख्या सबैको पछाडि प्रहरी लगाएर साध्य हुने पनि होइन। हामीले अनुगमन गर्ने भन्दा पनि व्यक्ति स्वयं नै सचेत हुनुपर्छ। यसो भयो भने कोरोना नियन्त्रण गर्न सकिन्छ।

काठमाडौं उपत्यकामा राजनीतिक दलहरूबाट भइरहेका अवरोध तथा नारा जुलुसहरूलाई हस्तक्षेप गर्न किन सक्नुभएन ?

हामीले अहिले राजनीतिक दलहरुलाई पनि अनुरोध गरेका छौँ। यो बिचमा मैले एउटा स्टेटमेण्ट पनि निकालेँ। सभाजुलुस नगर्नु भने । त्यसपछि अलि कम भएको छ। र हामीले यो सबैको विषय हो, सबै जिम्मेवार नै हुनुपर्छ, अहिले जुलुस सभा गर्ने अवस्था होइन भनेर अनुरोध गर्‍यौँ। अनुमति कसैलाई दिएका छैनौँ। र हस्तक्षेपको कुरा, एउटा माग राखेर जुलुस निकालेको छ त्यहाँ प्रहरीले लाठी चार्ज गर्ने कि नगर्ने ?

शान्तिसुरक्षा, अपराध नियन्त्रणको प्रश्न त होइन, एउटा स्वास्थ्य मापदण्ड पालना गर्न अपनाउने अभियान हो, उहाँहरुलाई हामीले भनेका छौँ, मानिराख्नु भएको पनि छ, कोरोना नियन्त्रण गर्न राजनीतिक दल, नागरिक समाज, आम जनता सबैको दायित्व हो, त्यो सबैले आ–आफ्नो भूमिका दायित्व बुझेर नियम पालना गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। अब आउने दिनमा त्यस्ता गतिविधिहरू नहोला भन्ने अपेक्षा गरेका छौँ।

कोरोना महामारी बढ्दै गयो भने त्यसको विरुद्ध ल ड्न कस्तो तयारी छ ?

अब अहिले त प्रमुख अक्सिजन नै हो। अक्सिजन अहिले ब्यालेन्समा गइरहेको छ र कतिपय अस्पतालमा अहिले लिक्विड अक्सिजनको व्यवस्था गरेकोले त्यस्तो समस्या देखिँदैन, स्वास्थ्य सामग्री पनि स्वास्थ्य मन्त्रालयले व्यवस्थापन गरेकै छ। प्रमुख समस्या भनेको अहिले खोपको हो। खोपको माग आपूर्तिको बिचमा दूरी छ। धेरैलाई खोप लगाउनुपर्ने छ। खोपको मात्रा कम आइरहेको छ।

त्यो भएको हुनाले भिडभाड हुने, सबै नागरिकले खोप पाउने, नपाउने सुनिश्चितता नहुने, त्यो कारणले नै भीड भएको हो। त्यसको लागि क्रमशः हामीले आपूर्ति बढाउँदै जानुपर्छ खोपको लागि र स्वास्थ्य सामग्रीको लागि पनि हामीले सम्बन्धित निकायलाई भन्नुपर्छ। यो स्वास्थ्य मन्त्रालयले नै गर्छ तर पनि भन्नुपर्छ। जस्तो अक्सिजन प्लान्टको लागि दिनदिनै जानकारी लिइरहेको छु, अवस्था के छ, तयारी अवस्थामा हुनुपर्‍यो भनेर ।

हरेक हिसाबले हामीले आफ्नो सम्बन्धित सरोकारवाला निकायहरूलाई आफ्नो कुराहरू भन्ने राख्ने गरिरहेका छौँ। त्यस्तो भयावह आत्तिहाल्नुपर्ने अवस्था होइन, तर अहिले हामीले लापरबाही गर्दै गयौँ, हेलचेक्र्याइँ गर्दै गयौँ भने बिचको दोस्रो कोरोनाको लहरले धेरै व्यक्तिहरूको निधन भयो त्यो अवस्थामा नपुग्नको लागि हामी आफू पनि सचेत हुनुपर्‍यो।

प्रतिकृया दिनुहोस्