Saturday, December 4

बँदेल–बिरालोदेखि काउली–गाँजरको प्रतिमा बनाउदै जनप्रतिनिधि

August 14, 2021 280

काठमाडौं । हालैमात्र उदयपुरको बेलका नगरपालिकाले ५८ लाख रुपैयाँ खर्चेर बराह (बँदेल) को प्रतिमा बनायो । यो प्रतिमा अहिले सामाजिक सञ्जालमा भाइरल छ । लाखौं खर्चेर यस्तो प्रतिमा बनाउनु कति आवश्यक हो ?

नागरिकको सेवा सुविधा र पूर्वाधार निर्माणलाई बेवास्ता गरेर यस्ता प्रतिमामा लगानी गर्नु कति उपयुक्त हो ? जस्ता कोणबाट बहस भइरहेका छन् भने कतिपयले यसलाई संघीयतामा स्थानीय तहको कार्यप्रणालीमाथि प्रश्न उठाउँदै आलोचना गरिरहेका छन् ।

बेलका नगरपालिका वडा नं. ७ स्थित मैनामैनी मूलगाउँमा निर्मित यो प्रतिमाका सम्बन्धमा नगरपालिकाले सांस्कृतिक तर्क अघि सारेको छ । बँदेलको यो प्रतिमा विष्णु भगवानको तेस्रो अवतार बराहसँग सम्बन्धित रहेको नगरपालिकाका मेयर दुर्गाकुमार थापाले बताए ।

प्रतिमा खडा गरिएको स्थानबाट बराह उफ्रेर वर्तमान बराह क्षेत्र प्रवेश गरेको मान्यताबाट प्रेरित भएर बनाइएको यो मूर्तिले हिन्दू र किराँतलाई जोडेको विश्वास रहेको उनी बताउँछन् । नगरपालिकाको सांस्कृतिक महत्व झल्काउन प्रतिमा बनाइएको मेयर थापाले बताए ।

बेलका नगरपालिकाद्धारा निर्मित बराहको यो प्रतिमा त पछिल्लो उदाहरणमात्र हो । संस्कृति र उत्पादन झल्काउने नाममा यतिबेला चोक–चोकमा यस्ता प्रतिमा बनाउने होडबाजी नै चलेको छ । स्थानीय तह आफैंमा स्वायत्त सरकार भएपछि त खर्च व्यवस्थापन पनि सहज हुने नै भयो ।

कतै सांस्कृतिक महत्व त कतै उत्पादकत्वका आधारमा चोकचोकमा तरकारी, फलफूल, जनावरका प्रतिमाहरू ठडिन थालेका छन् । धनकुटा जिल्लामा मात्रै यतिबेला ७ वटा यस्ता प्रतिमा बनेका छन् । यी प्रतिमा निर्माणमामात्रै ६९ लाख ३० हजार रुपैयाँ भन्दा बढी खर्च गरिएको छ ।

पूर्वी जिल्ला धनकुटा फलफुल उत्पादनमा अग्रणी छ । एभोकाडो र सुन्तलाको त राजधानी नै मानिन्छ । जिल्लामा धार्मिक तथा सांस्कृतिक हिसाबमा महत्वपूर्ण मानिएको महंगो रुद्राक्षदेखि तरकारीसम्मको उत्पादन उच्च छ । यिनै उत्पादनको प्रचार गर्नेगरी धनकुटाका विभिन्न स्थानीय तहले प्रतिमा बनाएका छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिकामा रुद्राक्ष, छथर जोरपाटी गाउँपालिकामा काउली र सहिदभूमि गाउँपालिकामा सुन्तलाको प्रतिमा बनाइएको छ । धनकुटा नगरपालिकाभित्र मात्रै तोङबा, कागती, एभोकाडो र गाँजर गरेर चारवटा प्रतिमा बनाइएको छ ।धनकुटा नगरपालिका वडा नं. ३ मा कागतीको प्रतिमा बनेको छ ।

तर, त्यहाँ कागती धेरै फल्ने भएर स्तम्ब बनेको होइन । नगरपालिकाले तीन वर्षअघि आठ लाख २० हजार लागतमा उक्त प्रतिमा बनाएको वडा अध्यक्ष विकास घिमिरेले बताए ।‘हामीले विकासको विभिन्न मोडालिटी अपनाएका छौं । मुख्य उद्देश्य कृषिमा आत्मनिर्भर हुने नै हो,’ उनले भने, ‘त्यसवाहेक स्थानीय अर्थतन्त्र वृद्धिको लागि पर्यटकीय स्थल बनाउन भनेर कागते भन्ने स्थानमा यो स्तभसहित पार्क पनि बनाएका हौं ।’

उनका अनुसार बजारछेउमा फोहोर भएपछि नगरपालिकाले कागते चोकमा स्तम्भसहितको पार्क बनाएको हो । त्यसपछि अहिले ‘ग्रिन कागते, क्लिन कागते’ भन्ने अभियान नै चलेको छ ।धनकुटा नगरपालिका वडा नं २ स्थित भिरगाउँमा गाजरको स्तम्भ यसै वर्ष खडा गरिएको छ ।

वडाअध्यक्ष चन्द्र लाल तामाङका अनुसार उक्त क्षेत्र गाजर उत्पादनको लागि उर्वर मानिन्छ । त्यहाँ उत्पादन हुने गाजर धरान, बिर्तामोड, विराटनगरलगातयतका शहरमा बिक्री वितरण हुने उनले बताए । गाजर धेरै उत्पादन हुने भएरै २० लाख रुपैयाँ लागतमा नगरपालिकाले गाजरको स्तम्भ बनाएको वडा अध्यक्ष तामाङ बताउँछन् ।

धनकुटा नगरपालिकाका आर्थिक अधिकृत विकास अधिकारीका अनुसार नगरपालिकाले ३ लाख ७० हजार खर्चेर एभोकाडोको स्तम्भ बनाएको छ । उत्पादनको हिसाबले धनकुटा एभोकाडो र सुन्तला प्रशस्त उत्पादन हुने ठाउँ हो । त्यसकारण एभोकाडोको प्रचारका लागि उक्त स्तम्भ खडा गरिएको उनी बताउँछन् ।

अधिकारीका अनुसार गएको आर्थिक वर्षमामात्रै नगरपालिकाले एभोकाडोको विरुवा निर्यातबाट ११ करोड रुपैयाँको कारोबार गरेको छ । त्यहाँका विरुवा भारतका दार्जेलिङ, सिक्किम र भुटानमा आयात हुने उनले बताए । यो वर्ष नगरपालिकाले निजी क्षेत्रको सहायतामा एभोकाडोको प्रशोधन भण्डार पनि निर्माण गर्ने उनले बताए ।

त्यस्तैगरी धेरै उत्पादन हुने नाममै धनकुटाकै छथर जोरपाटी गाउँपालिकामा काउलीको स्तम्भ बनाइएको छ । गाउँपालिकाका योजना अधिकृत दुर्गा रानाका अनुसार आर्थिक वर्ष ०७३/७४ मा ६ लाख ४० हजार रुपैयाँमा उक्त स्तम्भ बनाइएको हो । उनका अनुसार यस गाउँपालिकाले वार्षिक रुपमा ५० देखि ६० करोड रुपैयाँको तरकारीको कारोबार गर्दै आएको छ ।

धनकुटाकै महालक्ष्मी नगरपालिकास्थित जितपुरलाई रुद्राक्षको लागि उर्वर भूमि मानिन्छ । यसअघिका ६ वटा गाउँ विकास समिति मिलेर बनेको उक्त नगरपालिकाको प्रतिनिधित्व गर्नेगरी ८ लाख लागतमा ६ मुखे रुद्राक्षको प्रतिमा ठड्याएको छ । त्यहाँ वार्षिक १० करोड भन्दा बढीको रुद्राक्षको कारोबार हुने गरेको नगरपालिकाका मेयर प्रसु नेपालले बताए ।

अर्को स्थानीय तह सहिदभूमि गाउँपालिकास्थित खोकुमा सुन्तलाको प्रतिमा बनाइएको छ । प्रशस्त सुन्तला उत्पादन हुने यो क्षेत्रमा सुन्तलाको प्रवद्र्धन गर्न भन्दै गाउँपालिकाले १६ लाख रुपैयाँ खर्चेर सुन्तलाको प्रतिमा बनाएको छ ।धनकुटाको हिलेलाई तोङ्बा र सुकुटीको लागि प्रख्यात मानिन्छ ।

त्यसकारण त्यहाँ तोङ्बाको स्तम्भ नै ठड्याइएको छ । २०६३ सालमा तत्कालीन नगर विकास समितिले ७ लाख रुपैयाँ लागतमा स्तम्भ बनाएको थियो ।धनकुटाको अर्को स्थानीय तह साँगुरीगढीमा शंखको प्रतिमा बनाइएको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत दोडना राईका अनुसार भेडेटार बजारमा आर्थिक वर्ष २०७१/७२ मै यो प्रतिमाब बनाइएको थियो ।

तेह्रथुम जिल्लामा पनि लालीगुराँस, लसुन र बिरालोका प्रतिमा बनाइएका छन् । तेह्रथुमको म्याङलुङ नगरपालिकामा बनेको बिरालोको प्रतिमालाई ऐतिहासिक हिसाबमा महत्वपूर्ण मानिएको छ । विद्युतीय यन्त्रबाट आफैं कराउने र भजन पनि गाउने उक्त बिरालो स्थानीयबासीको चन्दा र नगरपालिकाको सहयोगमा बनेको हो ।

नगरपालिकाको ५ लाख र स्थानीयबासीको २७ लाख रुपैयाँमा उक्त स्तम्भ भनेको नगरपाकिाका रोजगार अधिकृत नविन खतिवडाले जानकारी दिए ।भ्यूटावर र पार्क हुँदै अहिले स्थानीय तहहरूमा प्रतिमा बनाउने होड चलेको छ । उत्पादन र संस्कृति झल्काउँदै पर्यटन प्रवद्र्धन गर्ने नाममा स्थानीय तहहरूले लाखौं बजेट खर्चेर यस्ता प्रतिमा खडा गरिहेका छन् ।

देशासिकी र अनुत्पादक क्षेत्रमा यसरी लगानी गरिरहँदा स्थानीय तहहरूमा नागरिकलाई सेवा र सुविधा मिल्ने विकास र पूर्वाधारको स्थिति भने नाजुक छ ।किराँती भाषामा म्याङ भनेको बिरालो र लुङ भनेको ढुँगा भन्ने बुझिन्छ । परापुर्वकालमा यो ठाउँमा राती एउटा ढुंगा कामेको र किन काम्यो भनेर एकजना भरियाले ढुंगा काट्दा रगत निस्किएको र त्यो फुटेको ढुंगाबाट बिरालो निस्किएको भन्ने किंबदन्ती छ ।

त्यही किंबदन्ती अनुसार त्यो ठाउँको नाम म्याङ्लुङ रहन गएको हुँदा त्यसको सम्झनामा उक्त बिरालोको स्तम्भ ठड्याइएको हो ।तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुर बजारमा लालीगुराँसको स्तम्भ बनाइएको छ । त्यहाँ वर्षमा एक पटक लटरम्मै गुराँस फल्छन् ।

तर, प्राकृतिक गुराँसले पुगेन । आन्तरिक र बाह्य पर्यटक ल्याउने नाममा त्यहाँ गुराँसको स्तम्भ नै बनाएको छ ।त्यहाँबाट ९ किलोमिटर पर लसुने भन्ने ठाउँ आउँछ । ठाउँको नाम नै लसुने भएपछि त्यहाँ पनि लसुनको स्तम्भस्थापना गरिएको छ । तर, यी दुई स्तम्भ भने नगरपालिकाले नभएर स्थानीय आफैंले बनाएका हुन् ।

धनकुटालाई एभोकाडो र सुन्तलाको राजधानी भनिएझैं सिन्धुलीलाई जुनारको राजधानी मानिन्छ । त्यहाँ आँखाले हेरेरै नभ्याइनेगरी जुनार फल्छ । जुनार उत्पादनको यही पहिचान झल्काउन कमलामाई नगरपालिकाले जुनारको प्रतिमा बनाएको छ । १० लाख रुपैयाँ खर्चेर नगरपालिकाले दुई वर्षअघि जुनारको प्रतिमा बनाएको हो ।

संखुवासभास्थित धर्मदेवी नगरपालिका ३ मा सिङ्गै चाँपको रुखको प्रतिमा खडा गरिएको छ । यो प्रतिमा बनाउन नगरपालिकाले ३२ लाख रुपैयाँ खर्च गरेको छ । नगर प्रमुख रमेश कुमार जिमीका अनुसार अहिले हाल चाँपको प्रतिमा भएको स्थानमा पहिला चाँपको रुख थियो ।

तर, बस्ती बढेसँगै रुख मासियो । नगरपालिकाले त्यही नासिएको चाँपको प्रतिमा बनाएको हो ।सुनसरीको चिण्डोको प्रतिमा छ । धरान उपमहानगरपालिकाले त्यहाँको बुद्ध चोकमा एक वर्ष अघि चिण्डोको प्रतिमा बनाएको हो । राईहरूको बाहुल्य रहेको क्षेत्रमा उनीहरूको पहिचान झल्काउन भन्दै वडा नं. १८ मा चिण्डोको प्रतिमा बनाएको उपमहानगर बताउँछ ।

राईहरूले आफ्नो कर्मकाण्ड गर्दा रक्सी बोक्न÷राख्न चिण्डोको प्रयोग गर्छन् । यो प्रतिमा बनाउन झन्डै १२ लाख रुपैयाँ खर्च गरिएको छ ।धादिङको मलेखुमा माछाको प्रतिमा बनाइएको छ । काठमाडौं उपत्यका ओहोरदोहोर गर्ने राजमार्ग क्षेत्रको यो बजार माछाका लागि प्रसिद्ध छ ।

माछा बजारका रुपमा परिचित बजारको पहिचान जोगाउन तथा पारखीहरूलाई आकर्षित गर्न गजुरी गाउँपालिकाले एक वर्षअघि प्रतिमा बनाएको हो ।गाउँपालिकाले ढलौटको धातुबाट प्रतिमा निर्माण गरेको हो । प्रतिमा बनाउन गाउँपालिकाले करिब ११ लाख खर्च गरेको छ ।

स्वयं मलेखु क्षेत्रमा त्यति धेरै माछा उत्पादन हुँदैन । अहिले त्यहाँ चितवन, विरगञ्ज, जनकपुर लगायतमात्र होइन भारतसम्मबाट माछा आउँछ । तर, स्थानीय उत्पादन बढाउन भन्दा नगरपालिकाले प्रतिमा बनाएको छ ।भ्यूटावर र पार्क हुँदै अहिले स्थानीय तहहरूमा प्रतिमा बनाउने होड चलेको छ ।

उत्पादन र संस्कृति झल्काउँदै पर्यटन प्रवद्र्धन गर्ने नाममा स्थानीय तहहरूले लाखौं बजेट खर्चेर यस्ता प्रतिमा खडा गरिहेका छन् ।देशासिकी र अनुत्पादक क्षेत्रमा यसरी लगानी गरिरहँदा स्थानीय तहहरूमा नागरिकलाई सेवा र सुविधा मिल्ने विकास र पूर्वाधारको स्थिति भने नाजुक छ ।

राम्रो कृषि उत्पादन हुने स्थानीय तहहरूलेसमेत आफ्ना उत्पादन वृद्धि र बजारीकरण गरी नागरिकको जीवनस्तर उकास्नेतर्फ भन्दा प्रतिमा बनाएर फजुल खर्च गरिरहेका छन् ।यसको उदाहरणका रुपमा धनकुटालाई नै लिन सकिन्छ । यो जिल्ला सुन्तला उत्पादनका लागि उर्वर भूमि हो ।

यहाँ फल्ने सुन्तलालाई नेपालकै गुणस्तरीय उत्पादन मानिन्छ ।तर, पछिल्लो समय त्यहाँ सुन्तलाको उत्पादन घट्न थालेको छ ।धनकुटाको सहिदभूमि गाउँपालिकास्थित खोकुलाई कुनै समय सुन्तलाको राजधानी भनेर चिनिन्थ्यो । त्यस क्षेत्रले वर्षमा १० करोड रुपैयाँसम्मको सुन्तलाको कारोबार गथ्र्यो ।

तर, हिजाआज त्यहाँ सुन्तलाको उत्पादन घटेको छ । गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार सुन्तला कारोबार अहिले वार्षिक घाटा ३ देखि ४ करोडमा सीमित छ ।‘हिजोआज तल्लो भेगमा सुन्तलाका विरुवा मर्न थालेका छन्,’ उनले भने, ‘विरुवा मर्न थालेपछि किसानहरूले सुन्तलाको साटो गोडभेला र एभोकाडो लगाउन थालेका छन् ।’

तर, बोट विरुवा किन सुक्न थाले भन्नेबारे अनुसन्धान भएको छैन ।किसानहरू अनुसन्धान नभएसम्म सुन्तला पुनः रोप्नका लागि तयार छैनन् । धेरैले जलवायु परिवर्तनका कारण यस्तो भएको हुन सक्ने अनुमान गरे पनि ठोस कारण पत्ता लागिसकेको छैन ।तर, प्रचारका लागि गाउँपालिकाले सुन्तलाको प्रतिमा भने ठड्याएको छ, १६ लाख रुपैयाँ खर्चेर ।

धनकुटा नगरपालिका वडा नं. ३ मा प्रशस्त कागती फल्ने होइन । तर, नगरपालिकाले त्यहाँ बडेमानको कागतीको प्रतिमा बनाइदिएको छ ।एभोकाडोमा त धनकुटा प्रख्यात भइहाल्यो । यसबाहेक कृषि उत्पादनका हिसाबले पनि धनकुटा उर्वर क्षेत्र हो ।तर, यी यावत कृषि उत्पादन बढाउने, बजारीकरण गर्ने र नागरिकको जीवनस्तर उकास्नेभन्दा भ्यूटावर ठड्याउने, प्रतिमा जस्ता कामलाई स्थानीय तहहरूले प्राथमिकता दिएका छन् ।

कतिसम्म भने धनकुटाजस्तो प्रचुर कृषि उत्पादन र सम्भावना भएको क्षेत्रमा उत्पादन भण्डारण गर्न अहिलेसम्म एउटा शीतभण्डारसम्म छैन ।यस्तै स्थिति सिन्धुलीमा पनि छ । जुनारको राजधानी सिन्धुलीको स्वादिलो जुनारको उत्पादन सम्भावना बढाउनेभन्दा त्यहाँको स्थानीय तहले प्रतिमा प्रदर्शन गरेको छ । साभार श्राेतः -कञ्चन न्यौपाने/नेपाल वाच

प्रतिकृया दिनुहोस्