Friday, May 27

अफगानिस्तानमा सैनिक बिमानबाट खस्नेमध्ये एक राष्ट्रिय फुटबल खेलाडी !

August 20, 2021 488

यही सोमबार अफगानिस्तानबाट सैन्य बिमानको चक्कमा लुकेर यात्रा गर्ने क्रममा आकाशबाट झरेका तीन जनामध्ये एकजनाको फुटबल खेलाडी भएको बताइएको छ ।

तालिबानी लडाकुको त्रासका कारण सैन्य विमानको चक्कामा लुकेर यात्रा गर्न खोजेका अफगानिस्तानको राष्ट्रिय युवा फुटबल टिमका खेलाडी जाकी अनवारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तालिबानी लडाकुले अफगानिस्तान कब्जाका लिएपछि अमेरिकी आर्मीको विमानमा लुकेर सुरक्षित देशतर्फ जानेक्रममा उनको निधन भएको अफगानिस्तानको शारीरिक शिक्षा तथा खेलकुद निर्देशनालयले पुष्टि गरेको छ ।

सोमबारमात्र तीन जना अफगानी नागरिक उडिरहेको विमानबाट खसेका थिए । सैन्य विमानको टायरमा बसेर भाग्न खोजेका उनीहरू काबुल सहरको माथि उड्दै गरेको विमानबाट खसेका थिए । केही व्यक्तिको शव स्थानीयको घरको छतमा खसेका थिए । विमानबाट खस्नेमध्येमा फुटबलर अनवारीसमेत रहेको अफगानिस्तान फुटबल महासङ्घले जनाएको छ ।

हामिद कर्जायी अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भेला भएका हजारौँ जनताबीच अनवारीसमेत थिए । उनी पनि तालिबानी लडाकुबाट जोगिन सुरक्षित देश जाने प्रयासमा थिए । सेनाको सी–१७ विमानबाट सुरक्षित स्थानको खोजीमा निस्किने प्रयासमा रहेका उनको आकाशमा उडिरहेको विमानबाट खसेर निधन भएको हो ।

सामाजिक सञ्जालमा शेयर गरिएको एक भिडिओमा मानिसहरु विमानमा चढ्नको लागि तँछाडमछाड गरिरहेको देखिन्छ ।

भिडिओमा एक पछि अर्को गर्दै तीन जना क्रमश जमिनमा खसेको देख्न सकिन्छ। स्थानीका अनुसार उड्ने तयारीमा रहेको हवाईजहाजको टायरको बीचमा केही मानिस उभिएका थिए। काबुल विमानस्थलबाट हवाई जहाजले उडान भर्न आकाशतिर अगाडी बढ्दै गर्दा मानिसहरु एक पछि अर्को गर्दै जमिनमा खसे।

तालिबानको तथ्याङ्कअनुसार काबुल विमानस्थल र त्यसको वरिपरि गत आइतबारदेखि बुधबारसम्ममा १२ जनाको मृत्यु भएको छ । गोली प्रहार, भगदौडमा किचिएर र विमानबाट खसेर १२ जनाको मृत्यु भएको रोयटर्ससँगको कुराकानीमा तालिबानका एक अधिकारीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्