मंसिर १ भाइटीका लगाउन अशुभ रहेको भन्दै बजारमा ठूलो हल्ला फिँजिएपछि बोल्यो पञ्चाङ्ग निर्णायक समिति, के हो मनासिब ?

मंसिर १ भाइटीका लगाउन अशुभ रहेको भन्ने ठूलो हल्ला फैलिएपछि पञ्चाङ्ग निर्णायक समिति बोलेको छ । समितिले मंसिर १ भाइटीका लगाउन विभिन्न कारणले अशुभ रहेको भन्ने हल्ला गलत रहेको बताएको छ ।

शुक्रबार समितिका सचिव सूर्य ढुंगेलले विभिन्न कारणले अशुभ योग परेको भनेर फैलाइएको सूचनामा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन् ।

मलमासका कारण केही समय पछि सरेको तिहारको मुख्य दिन भाइटीका यो वर्ष मंसिर १ गते परेको छ । तर बजारमा कसैले मंसिरमा दिदीबहिनीबाट दाजुभाइलाई टीका लगाउन नहुने भन्ने हल्लाका कारण धेरैमा अन्योल सिर्जना भए पनि यसमा कुनै सत्यता नरहेको ढुंगेलले बताएका हुन् ।

अर्कोतर्फ शुभ योग नरहेको भनेर चलेको हल्लामा पनि सत्यता नरहेको ढुंगेलले बताए। मध्याह्नमा द्वितीया तिथी परेको दिन यमद्वितीया या भाइटीका मनाउने चलन छ । त्यसैले यसमा कुनै शुभ र अशुभ योगको कुरा नहुने ढुंगेलले बताए । त्यसैले भाइटीकाको दिन निर्धक्क भएर भाइटीका लगाउन पनि ढुंगेलले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्